शीतलनिवासमा सर्वदलीय बैठक सुरू, को-को छन् सहभागी ?
२४ असाेज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। केही बेरअघिबाट शीतलनिवासमा बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग नेताहरू सहभागी छन्।
राष्ट्रपति पौडेलले फागुन २१ गतेको निर्वाचन लगायत पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान गर्नुभएकाे हाे । बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी हुनुहुन्छ ।
त्यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुन सहभागी हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य सहभागी हुनुहुन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी हुनुहुन्छ ।
जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीबाट सिके राउत र डा जय कुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ती पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती सहभागी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार १६:४५








