३० कार्तिक २०८२, आईतवार | Sun Nov 16 2025

एमाले सचिवालय बैठक आज, ओलीलाई अध्यक्षबाट विदा लिन अनुरोध गरिने

२४ असोज, काठमाडौँ । प्रतिनिधिसभाबाट निर्वाचित भएको सरकारको साँचो गैर राजनीतिक व्यक्तिहरूको हात्तमा सुम्पिएर सडकमा पुगेको नेकपा (एमाले)को सचिवालय बैठक आज र भोलि बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको भाडाको निवास भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा बस्ने सचिवालय बैठकले मुख्य रूपमा असोज २७ गतेदेखि २९ गतेसम्म बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तयार गर्नेछ ।

बैठकले मुख्य रूपमा एमाले अध्यक्षको रूपमा ओलीको राजनीतिक र नैतिक बैधता सकिएको सन्देश पनि दिनेछ । अर्थात एमालेका बहुमत सचिवालय सदस्यले ओलीलाई अध्यक्षबाट विदा लिन अनुरोध गर्नेछन ।एमालेमा पुनर्गठन गरेर पार्टीलाई नयाँ जीवन दिने र पुनर्गठनको आवाज उठाउनेहरूलाई विदेशीको एजेण्ड भनेर कारबाही गरेर अघि बढ्नुपर्ने दुई थरी मत जोडतोडका साथ छलफलमा जानेछ ।

पुनर्गठन गरेर एमालेलाई नयाँ जीवन दिनुपर्ने अभियानको नेतृत्व पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नुभएको छ  । जसलाई ६ जना उपाध्यक्ष मध्ये ५ जनाले साथ दिने भएका छन । जसमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे रहनुभएको छ । सुवास नेम्वाङको निधनपछि एकै पटक पार्टीको उपाध्यक्ष हुने अवसर प्राप्त गर्नुभएको गुरू बराल भने ओलीको बचाउमा हुनुहुन्छ ।

त्यस्तै पार्टी महासचिव र बहुमत उपमहासचिव भने ओलीतिर देखिनुभएको छ । महासचिव शंकर पोखरेलले र उपमहासचिवद्धय प्रदीप ज्ञवाली र विष्णु रिमाल ओलीको पक्षमा हुनुहुन्छ । उपमहासचिव पृथ्वी सुब्बा गुरूङ भने अब ओलीको नेतृत्वमा एमाले अघि बढ्न नसक्ने निष्कर्षमा हुनुहुन्छ ।

त्यस्तै सचिवहरू लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई छविलाल विश्वकर्मा  र रघुवीर महासेठ नेतृत्व परिवर्तनको पक्षमा देखिनुभएको छ । सचिवहरू मध्ये पद्मा अर्याल अहिलेसम्म बोल्नुभएको छैन भने उहाँले अध्यक्ष ओलीको पक्षमा आफूलाई प्रस्तुत गर्ने उहाँको निकटहरूले बताएका छन ।

ओलीको रहरले यो बीचमा भक्तपुरमा दुईवटा कार्यक्रम राखियो तर नेता र कार्यकर्ताको उपस्थिति लाजमर्दो देखियो । पहिलो पटक युवा संघको व्यानरमा भएको कार्यक्रममा मुस्किलले तीन देखि पाँच सय सहभागी भए भने पार्टीको जिल्ला कमिटी भक्तपुरको व्यानरमा बिहीबार भएको कार्यक्रममा पाँच सयदेखि सात सय मानिस जम्मा भएका थिए । पार्टीका सम्पूर्ण जनसंगठन परिचालन गरेर बिहीबारको कार्यक्रम नकै भव्य बनाउने प्रयास एमालेले गरेको थियो । तर त्यो नतिजामा देखिएन । सधैँजसो ओलीको अघिपछि देखिने गुरू बराल, शकंर पोखरेल, प्रदीप ज्ञवालीहरू मात्र कार्यक्रममा उपस्थिति हुनुभएको थियो । ओली जाने कार्यक्रम भनेपछि निम्तो नै नभए पनि सहभागी हुन हिड्ने स्थायी कमिटी सदस्य आनन्द पोखरेल र पोलिटब्यूरो सदस्य रामेश्वर  फूयाँल समेत बिहीबारको कार्यक्रममा देखिनु भएन । यसले पनि एमालेमा ओलीको लोकप्रियता शून्यतर्फको यात्रामा अघि बढेको देखाउँछ ।

यसअघि जेनजी विद्रोहपछि असोज १२ बसेको बैठकमा तत्कालीन सरकार प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउमा कोही पनि नेता देखिएका थिएनन् । ओलीका लागि निकै आक्रामक ढंगले बैठकमा समर्थन प्रस्तुत गर्ने र बाहिरि जीवनमा ओलीको खुशीका लागि विभिन्न कार्यक्रम तयार गरेर कार्यान्व्यनमा लैजाने उपमहासचिव विष्णु रिमालले बैठकको एजेण्डाभित्र एक शब्द पनि बोल्नुभएको थिएन ।

रिमालले बैठकमा नबोलेकोमा अचम्म मान्दै दैनिकीको सम्पर्कमा रहेको एक जना एमालेको पादधिकारीले भन्नुभयो ‘पछिल्लो पटक ओलीसँग भन्दा पनि रिमालसँग नेताहरू डराउँथे । अध्यक्ष ओलीले रिमालको सल्लाहमा नेताहरूको बारेमा मूल्यांकन गर्ने र निर्णय लिने गर्नुहुन्थ्याे तर आइतबार ओलीको पक्षमा खुलेर एक जना उहाँले मात्रै भए पनि बोल्नु होला भनेको झन चुपचाप पो बस्नु भयो ।’

बैठकमा उपमहासचिव समेत रहनुभएका ओलीका मुख्य सल्लाहकार रिमालको प्रस्तुती कस्तो होला भन्ने धेरैको चासोको विषय थियो । ओलीले ज्यान जोगाउनका लागि प्रधानमन्त्रीबाट राजीनामा दिएर बालुवाटार छाडेर भाग्दा पनि रिमाललाई मात्र साथमा लिएर हेलिकप्टरबाट सुपारीटार उड्नुभएको थियो । उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली पनि साथै भए पनि ओलीले भने रिमाललाई मात्र हेलिकप्टरमा लिएर उड्नुभएकाे थियाे । यद्यपी संयोगले पौडेल, पोखरेल र ज्ञवालीले सभामुख निवासतर्फको गेटबाट भागेर बाच्न सफल हुनुभएको थियो ।

ओली नेतृत्वको सरकाले २१ जना युवाको हत्या गरेको थियो भने त्यसपछि भएको विद्रोहमा थप ५३ जनाले ज्यान गुमाएका थिए । ओली सत्ताले संयमता गुमाउँदा दलहरूको हातबाट सत्ताको साँचो नै नागरिक सरकारको नाममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको हातमा पुगेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार ०७:५६