केपी ओलीलाई पक्राउ गर्न तीन महिना कुर्नु नपर्ने, यस्तो छ आयोगको निर्णय
२३ असोज, काठमाडौँ । जेनजी पुस्ताको प्रदर्शनका क्रममा अत्याधिक बल प्रयोग गरेर हत्या गरिएका घटनाका सम्बन्धमा परेका जाहेरीको अनुसन्धान गर्न र आरोपीलाई पक्राउ गर्न जाँचबुझ आयोगको सिफारिस कुर्नु नपर्ने भएको छ । मानवता र राज्यविरूद्धको कसुरमा कारबाही गर्न आयोगको सिफारिस कुर्नु नपर्ने निर्णयसहितको पत्र प्रहरी कार्यालयमा पठाइएको छ ।
बिहीबार आयोगले एक निर्णय गर्दै फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न(गराउन नेपाल कानूनले अख्तियारी प्रदान गरेकोले ती निकायले आफ्नो ढंगले तत्कालै काम गर्न सक्ने उल्लेख गरेको छ ।

आयोगले भनेको छ । ‘फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न(गराउन नेपाल कानूनले अख्तियारी प्रदान गरेको विदितै छ । फौजदारी वारदातमा अनुसन्धान तहकिकातको कार्य गर्न गराउन यस आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोराको आयोगको मिति २०८२।०६।२१ को प्रेस विज्ञप्तीको प्रतिलिपि साथ प्राप्त जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाइदिने ।’
जिल्ला प्रहरी परिसर काठमाडौँमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध परेको मानवताविरूद्धको जाहेरी प्रहरीलाई नै फिर्ता पठाउने निर्णय लिएको हो । सरकारको गोलीले मृत्युवरण गरेका मृतक रसिक खतिवडाका बुबा पुरुषोत्तम खतिवडासमेत ४ जनाको जाहेरी प्रहरीमा परेको थियो ।


प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १९:२७












