२७ माघ २०८२, मंगलवार | Wed Feb 11 2026

हुलाकको सार्थकता घटेको छैनः सञ्चारमन्त्री खरेल

२३ असोज, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो विश्वव्यापी परिवेशमा हुलाक सेवाको आवश्यकता झनै बढेको बताउनुभएको छ । १५१औँ विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागले आज आयोजना गरेको कार्यक्रममा उहाँले हुलाक सेवालाई समयानकूल सुधार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

“हुलाकको आवश्यकता र सार्थकता घटेको छैन”, मन्त्री खरेलले भन्नुभयो, “हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसयिक बनाउनुपर्छ ।” सरकार हुलाक सेवाको व्यावसायिकीकरण गर्ने पक्षमा रहेको उल्लेख गर्दै उहाँले यसबाट मात्रै हुलाक सेवाको विश्वव्यापी पहुँच अभिवृद्धि गर्न सकिने बताउनुभयो ।

“स्थानीय तह र समुदाय, परिवार र व्यक्तिको तहसम्म हुलाक सेवा पु¥याउनुपर्छ । विश्वको जुनसुकै देशमा रहेका नेपालीका बीचमा हुलाक सेवाको पहुँच हुनुपर्छ”, मन्त्री खरेलले भन्नुभयो । उहाँले हुलाक सेवालाई सुदृढ बनाउन मन्त्रालय सदैव सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिको विकास र सरकारका केही नीतिका कारण हुलाक सेवा केही ओझेलमा परे पनि यसको महत्व नघटेको बताउनुभयो । उहाँले भन्नुभयो, “सूचना प्रविधिको प्रयोगमामार्फत ‘स्मार्ट हुलाक’ बनाउनेतर्फ लाग्नुपर्छ ।”

विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले हुलाक सेवालाई ‘स्मार्ट’ बनाएर नागरिकको घरदैलोमा पुग्ने सपना पूरा गर्न स्रोतसाधनको उचित प्रबन्ध गरिदिन सरकारसँग आग्रह गर्नुभयो ।

सो अवसरमा मन्त्री खरेलले नेपाली क्रिकेट टोली (महिला र क्वालिफाइड यु–२०), महोत्तरीको महिटहानीस्थित लक्ष्मीनारायण मन्दिर, मुस्ताङको लोमान्थाङस्थित सिजा झोङ गुफा र शिक्षाविद् डा हर्कबहादुर बुढा मगरको तस्बीर अङ्कित टिकटमा टाँचा लगाउनुभएको थियो ।

कार्यक्रममा ‘फिलाटेलिक’, उत्कृष्ट कर्मचारीलगायतलाई सम्मान गरिएको थियो । दिवसका अवसरमा विभाग परिसरमा विभिन्न हुलाक टिकट प्रदर्शन गरिएको थियो । ‘नागरिकका लागि हुलाक, स्थानीय सेवा र विश्वव्यापी पहुँच’ भन्ने नाराका विश्वव्यापी रुपमा आज विश्व हुलाक दिवस मनाइँदैछ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १४:५३