सूचीकृत कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह
२२ असोज, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले एक सूचना जारी गर्दै सूचीकृत कम्पनीहरुलाई आर्थिक वर्ष २०८२/८३ को धितोपत्र वार्षिक नवीकरण बुझाउन आग्रह गरेको हो ।
नेप्सेमा सूचीकृत ५० करोड रुपैयाँसम्मको चुक्तापूँजी भएका कम्पनीले ५० हजार र ५० करोड रुपैयाँभन्दा माथि चुक्तापूँजी भएकाले १ लाख रुपैयाँबराबरको नवीकरण शुल्क बुझाउनु पर्ने नेप्सेले जारी गरेकाे सूचनामा उल्लेख छ ।
यस्तै, ५० करोड रुपैयाँसम्मको चुक्तापूँजी भएका डिबेञ्चर र म्युचुअल फण्डले २५ हजार रुपैयाँ र ५० करोडभन्दा माथि चुक्तापूँजी भएकाले ५० हजार रुपैयाँ नवीबरण शुल्क तिर्नु पर्ने हुन्छ । साे शुल्क असोज मसान्तसम्म बुझाउनु पर्ने नेप्सेले जनाएको छ ।
सूचीकृत कम्पनीहरुले साे रकम ग्लोबल आइएमई बैंकमा रहेको नेप्सेको खातामा जम्मा गर्न सक्ने नेप्सेले जनाएकाे छ । तोकिएको समयमा रकम नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचिकरण विनियमावली २०७५,को विनियम १६ अनुसार सूचीकरण स्थगन समेत गर्न सकिने नेप्सेले जनाएको छ ।
प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार १४:०२













