प्रहरी फिर्ता बोलाएको हल्ला झुटो, उच्च सतर्कता स्वभाविक
२० असोज, काठमाडौँ । जेनजी अभियानको अगुवा दाबी गरेर विभिन्न गतिबिधि गरिरहेका सुदन गुरूङले धम्की दिएपछि काठमाडौँका प्रहरी बिटहरूबाट बृत्तमा प्रहरी फिर्ता बोलाएको हल्ला गलत रहेको बुझिएको छ ।
निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउको माग गर्दै किटानी जाहेरी दिन काठमाडौँ प्रहरी परिसरमा गएको र जाहेरी दर्ता नभएपछि गुरूङले धम्क्याएको भन्दै प्रहरीले साना युनिटबाट कर्मचारी बृत्तमा फिर्ता बोलाएको भन्दै केही सञ्चार माध्यमले समाचार प्रकाशित गरेपछि दैनिकीले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालसँग यस विषयमा चासो राख्दा कार्यक्षेत्रमा रहेका प्रहरी फिर्ता गर्ने कुनै निर्णय र निर्देशन नभएको जानकारी दिनुभयो ।
उहाँले अहिले संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा निकायले उच्च सतर्कता अपनाउनु स्वभाविक नै रहेको बताउनुभयो । विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गुरूङले जे पनि हुने भन्दै धम्क्याएपछि प्रहरी फिर्ता बोलाइएको समाचार सूचनाहरू सञ्जालमा बाँडिरहेका छन ।

प्रहरी स्रोतले ९ तारिख हुने भनिएको प्रदर्शनका लागि भने उच्च सतर्कतासहित प्रहरीले तयारी गरिरहेको जनाएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर प्रहरीका सबै इकाइमा उच्च सतर्कता अपनाइएको बुझिएको छ ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले काम गरिरहेकै समयमा सोमबारबाट जेनजी अगुवाको नाममा ओली र लेखकलाई पक्राउ गर्न भन्दै सामाजिक सञ्जालमा पोस्टर अभियान चलाएका छन ।
प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार २२:०३












