२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

इलामका पहिरो प्रभावितलाई राहत प्याकेजका लागि सुहाङले गरे मन्त्रीहरूसँग छलफल

२० असाेज, काठमाडौं । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले इलाम पहिरो प्रभावितका लागि राहत प्याकेजबारे गृहमन्त्री ओमप्रकाश अर्याल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग छलफल गर्नुभएकाे छ ।

इलाम-२ का निवर्तमान सांसदसमेत रहनुभएका नेम्वाङले दुई मन्त्रीसहित विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलाई पनि भेटेर इलाम पहिरोले निम्त्याएको संकट, राहत तथा पुन:स्थापनाको योजनाबारे पनि ध्यानाकर्षण गराउनुभएकाे छ ।

‘इलाममा भएको मानवीय र भौतिक क्षतिको विषयमा जानकारी दिने लिने र त्यसको व्यवस्थापनका लागि भइरहेका कामहरूबारे छलफल गरियो,’ सामाजिक सञ्जाल फेसबुकमा नेम्वाङले लेख्नुभएकाे छ ।

उहाँले लेख्नुभएकाे छ, ‘इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् भने केही अझै बेपत्ता छन् । घरहरू क्षतविक्षत भएका छन्, सडक भत्किएर अवरुद्ध छ, विद्युत् आपूर्ति र सञ्चार सेवामा समेत अवरोध उत्पन्न भएको छ । यो कठिन घडीले हामी सबैलाई गहिरो पीडा र चिन्तामा पारेको छ ।’

उनले मन्त्रालय र प्राधिकरणसँगको छलफलका भएको ४ विषयसहित मृतकका सबै परिवारलाई क्षतिपूर्ति दिने, एक जना गुमाएको खण्डमा २ लाख रूपैयाँ र एकभन्दा बढीको मृत्यु भएमा थप प्रतिव्यक्ति १ लाख रूपैयाँका दरले क्षतिपूर्ति दिने (पालिकाबाट व्यवस्थापन गरिने) बारे पनि छलफल भएको बताउनुभएकाे छ ।

प्रकाशित मिति : 17:45