एमाले नेता केशवराज पाण्डेको अर्थपूर्ण टिप्पणी ‘टपरटुईयाँ होईन, यथार्थपरक बनौँ’
२० असोज, काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य केशवराज पाण्डेले पार्टी निर्माणको अभियान बलियो बनाउन सत्य बुझेर सत्य बोल्नुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत टिप्पणी लेख्दै केन्द्रीय सदस्य पाण्डेले यस्तो बताउनुभएको हो ।
एमाले बागमती प्रदेश कमिटीको पूर्व अध्यक्ष समेत रहनुभएको पाण्डेले टपरटुईयाँ नभइ यथार्थपरक बन्न अपिल गर्नुभएको छ । पार्टी पुनर्गठनको बहस चलिरहेको समयमा पाण्डेले अर्थपूर्ण रूपमा आफ्नो टिप्पणी सार्वजनिक गर्नुभएको हो ।
उहाँले भन्नुभएको छ, ‘सत्य बुझौं र सत्य बोलौं। टपरटुईयाँ होईन, यथार्थपरक बनौँ । एमाले पार्टी निर्माणमा नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र मतदाता समेतको यथोचित योगदान छ । सब़ैको साझा सामर्थ्यले यो पार्टीमा सुध्दिकरण गर्ने हो र यो देश निर्माणको नेतृत्व एमाले ले नै गर्ने हो । जिम्मेवार बनौं र जिम्मेवारीपूर्वक बहस चलाआ़ैं ।’

माधवकुमार नेपाल नेतृत्वको एमालेमा वर्तमान अध्यक्ष केपी शर्मा ओली प्रमुख रहँदा विदेश विभागको सचिव रहनुभएको पाण्डेको यो टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पार्टीले केन्द्रीय कमिटी बैठकको तयारी गरिरहेको र नेतृत्वनै परिवर्तनको चर्चा र बहसहरू समेत भैरहेको सन्दर्भमा पाण्डेको यो टिप्पणीले एमाले बृत्तमा तरङ्ग पैदा गरेको छ ।
केन्द्रीय सदस्य पाण्डेले ओलीले मात्र पार्टी निर्माण गरेको जसरी भैरहेको चर्चा खण्डित गर्ने गरी एमाले पार्टी निर्माणमा नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र मतदाता समेतको यथोचित योगदान रहेको बताउनुभएको छ । उहाँले सब़ैको साझा सामर्थ्यले एमालेको शुद्धिकरण गरेर फेरि पनि देश निर्माणको नेतृत्व एमाले ले नै गर्ने पनि दाबी गर्नुभएको छ ।
एमाले नुवाकोटको इन्चार्ज समेत रहनुभएको पाण्डेले यसअघि बागमती प्रदेशको भौतिक पूर्वाधार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नेतृत्व गरिसक्नुभएको छ भने पार्टीको मुख्य सचेतको भूमिका समेत निर्वाह गरिसक्नुभएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार २०:१३












