महाधिवेशन नकुरी एमालेको सत्ता छाड्न ओलीलाई बौद्धिक परिषद्को सुझाव
-माधवप्रसाद तिवारी
१७ असोज, काठमाडौँ । प्रधानमन्त्री हुँदाहुँदै प्रधानमन्त्री निवास बालुवाटारबाट ज्यान जोगाउन राजीनामा दिएर सेनाको हेलिकप्टरमा भागेका केपी शर्मा ओलीलाई नेकपा एमालेको थिङ्क टयाङ्क मानिने नेपाल बौद्धिक परिषद्ले पार्टीको सत्ता छाड्न सुझाव दिएको छ । परिषद्ले सचिवालयको बैठक नै गरेर ओलीलाई एमालेको अध्यक्षबाट विदा हुन सुझाव दिएको हो ।
परिषद्ले मिति २०८२ असोज १ गते सचिवालय बैठक बसी वर्तमान परिस्थितिमाथि निर्मम ढंगले समिक्षा गरी पार्टी नेतृत्वलाई सुझाव हस्तान्तरण गरेको हो । पार्टी अध्यक्ष ओलीका नाममा सम्बोधन गरिएको सुझाव सम्बन्धी तीन पानाको तीन बुँदे पत्र परिषद्का अध्यक्ष ई. गजेन्द्रप्रसाद थपलियाले हस्ताक्षर गरेर महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरेको उहाँ निकट स्रोतले जनाएको छ । अध्यक्ष ओलीलाई नै सुझाव हस्तान्तरण गर्ने तयारी भएको भए पनि प्ररिस्थिति प्रतिकुल भएकाले महासचिवलाई हस्तन्तरण गरिएको बुझिएको छ ।
परिषद्ले सुझावको पहिलो नम्बरको बुँदामा नै ओलीलाई नेतृत्व छाड्न सुझाव दिँदै त्यसका लागि महाधिवेशन समेत कुर्न नहुने बताएको छ । सुझावमा केन्द्रीय कमिटीबाटै विधान बमोजिम नेतृत्व हस्तन्तरण गरेर अघिब बढ्न भनिएको छ ।
सुझावमा भनिएको छ, ‘विगतमा विभिन्न नेतृत्वदायी भूमिकामा देश र आन्दोलनलाई योगदान गरिसक्नुभएका आदरणीय नेताहरु अभिभावकीय भूमिकामा बसेर नयाँ नेतृत्वलाई आफ्नो सिकाई र भोगाईका अनुभवबाट प्रेरित र प्रशिक्षित गर्नु उपयुक्त देखिन्छ । पार्टीको नेतृत्व विधिवत हस्तान्तरण गर्न पार्टी महाधिवेशनको आयोजना गर्नु पर्ने र तत्काल सो काम गर्न प्राविधिक रुपमा सम्भव नहुने भएकाले विद्यमान विधानकै अधिनमा गरी कार्यकारी केन्द्रीय कमिटीबाट यथाशीघ्र निर्णय गर्नु उपयुक्त देखिन्छ ।’

अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले सुन्न समेत नचाहेको कुरा परिषद्ले बैठक नै बसेर निर्णय गरी सुझावको रूपमा नेतृत्वलाई नै हस्तान्तरण गरेको हो । पार्टीको थिङ्क टयाङ्क मानिने परिषद्ले घटना अघिको परिस्थितिको विश्लेषण गरी पार्टी र नेतृत्वलाई सुझाव दिन नसकेको आत्मसमिक्षा समेत गरेको छ ।
परिषद्ले पार्टीमा हस्तन्तरण गरेको पत्रमा भनिएको छ, ‘पार्टीको अभिन्न अंग नेपाल बौद्धिक परिषद्को विगतको भूमिकाको बारेमा बैठकमा गम्भीर आत्मसमिक्षा भएको छ । देशमा विकसित जेनजीको उच्च आक्रोश र शत्रु वर्गका विभिन्न शक्ति केन्द्रहरुको षड्यन्त्रलाई बेलैमा अनुमान तथा अध्ययन गरी पार्टीलाई उपयुक्त सुझाब दिन नसक्नु परिषद्को कमजोरीको रुपमा स्वीकारेका छौं । साथै, विभन्न राजनीतिक तथा सामाजिक पक्षहरुका बारेमा वैज्ञानिक विधिबाट जनमत अध्ययन गरी प्राप्त निस्कर्ष सुझाबका रुपमा पार्टीलाई उपलब्ध गराउने दिशामा विगतमा थालेको अभियान उपयुक्त रहेको निस्कर्ष निकाल्दै आगामी दिनमा यसलाई अझ बृहत्तर रुपमा अभ्यास गरी पार्टीलाई थप सुदृढ गर्ने दिशामा योगदान गर्ने निर्णय गरेको छ ।’
त्यस्तै परिषद्ले जेनजी पुस्ताको आक्रोशलाई बेलैमा यथेष्ट पहिचान गरी सम्बोधन गर्न नसकेको टिप्पणी गरेको छ । पत्रमा भनिएको छ, ‘नेपाल राष्ट्र र नेपाली जनताको पक्षमा नेकपा (एमाले)ले गरेका युगान्तकारी तथा असल काम नेपाली जनता र विशेषगरी जेनजी पुस्तालाई सगौरव व्याख्या तथा प्रवाह गर्न सकेनौं भने अर्कोतिर सो पुस्ताले आधुनिक सञ्चार माध्यमको सदुपयोग गरी विकसित मुलुकहरुमा देखिरहेको मोहक अवस्था र नेपालको विद्यमान अवस्थाको तुलनात्मक कमजोर अवस्थाबाट उनीहरुमा सृजित आक्रोशलाई हामीले बेलैमा यथेष्ट पहिचान गरी सम्बोधन गर्न सकेनौं ।’
पार्टीले विगतमा देशको समृद्धि र राष्ट्रिय स्वाभिमानको जगेर्नामा गरेको अद्वितीय योगदानका बाबजुद वर्तमान परिस्थितिमा हाम्रो गौरवशाली पार्टीप्रति जनआक्रोश इतिहासकै सबैभन्दा उच्च विन्दुमा पुगेको निष्कर्ष पनि परिषद्ले निकालेको छ । उसले जनताको यस आक्रोशपूर्ण भावनालाई आत्मसात गरी जनताकै पक्षमा काम गर्ने प्रयत्नकै बीचमा हाम्रो पार्टी तथा पार्टीका नेताहरुले विगतमा गरेका कमी कमजोरीहरुलाई मसिनो गरी आत्मसमिक्षा गर्नुपर्ने आवश्यकता औँल्याएको पनि छ ।



प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार १४:१६












