२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

आजदेखि चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी सुरु

१३ असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि निकुञ्जमा जिप सफारी सुरु गरेको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथहरु बिग्रिने, जङ्गलमा भएका ससाना खोला खोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको थियो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार आजदेखि जिप सफारीका लागि अनुमति दिइएको हो । गत साल सञ्चालन भएका जिपलाई मात्र यस वर्ष नवीकरण गरी जिप सफारी सुरु गरिएको हो  । गत वर्ष जीर्ण देखिएका जिपलाई मर्मतसम्भार गरेर नवीकरणमा ल्याइएको हो । गत महिनादेखि नै निकुञ्जले बाटो मर्मतसम्भार र झाडी फाँड्ने काम सुरु गरेको थियो । गएको असार १६ गतेदेखि जिप सफारी बन्द गरिएको थियो ।

ल्याण्डमार्क फरेस्ट पार्क सौराहाका प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेले निकुञ्जमा जिप सफारी सुरु हुँदा यसले पर्यटनमा थप टेवा पुग्ने बताउनुभयो ।

निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट १६, मेघौलीबाट नौ जिप सञ्चालन भएका छन् । यस्तै उजौलीबाट दुई, अमलटारीबाट पाँच र माडीबाट एउटा जिपले निकुञ्जभित्र सफारी गर्न लागेको हो ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार १४:२९