२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

कार्यालमै बन्धक बनाइएका नेप्सेका अध्यक्ष र सीईओको १२ घण्टापछि उद्धार

८ असोज, काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंलाई मध्य रातमा प्रहरीले उद्धार गरेको छ । कर्मचारीहरुले लामो समयदेखि आफूहरुले पाउने बोनसको विषय नटुङ्ग्याएको भन्दै मंगलवार दिउसो ११ बजेदेखि अध्यक्ष र सीईओलाई कार्यालयमा बन्धक बनाएर राखेका थिए ।

राति सूचना पाएर उद्धार गर्न गएको प्रहरीले पनि तेस्रो प्रयासमा मात्र उद्धार गर्न सफल भएको थियो । स्रोतका अनुसार पहिलो पटक उद्धारमा गएको प्रहरी टोलीलाई बन्धक बनाउने मध्येका केही कर्मचारीले कार्यालयमा कोही पनि छैन कसैले गलत सूचना दियो भन्दै फर्काइदिएका थिए । त्यसपछि उद्धारका लागि प्रहरी टोली दोस्रो पटक पुग्दा त्यही कर्मचारीले अहिले वार्ता चलिरहेकोले जान नमिल्ने भन्दै रोकेका थिए । त्यसपछि पनि फर्किएको प्रहरी टोलीले तेस्रो प्रयासमा प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षबाट अध्यक्ष र सीईओ दुबैको उद्धार गरेर घर पुर्याएको थियो ।

राति १२ बजे नेपाल प्रहरीले रेस्क्यु गरेर उनीहरूलाई घर पुर्याएको हो । नेप्सेका कर्मचारी युनियनले श्रम अदालतमा नाफाबाट कर्मचारीले बोनस पाउनुपर्ने भन्दै दिएको निवेदनमा बोनस दिन आदेश दिएको थियो । तर, श्रम अदालतको आदेश विपरित नेप्से सञ्चालक समितिले कर्मचारीलाई बोनस नदिने निर्णय गरेपछि उनीहरू आन्दोलित भएका हुन् ।

dainiki.com

कर्मचारीले प्रदर्शन गर्दै रातिको १२ बजेसम्म अध्यक्ष र सीईओ सहितका पदाधिकरीलाई कार्यालयमा नै थुनेर राखेका हुन् । नेप्सेका कर्मचारीको आन्दोलन आज पनि जारी छ। उनीहरूले माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

यो पनि पढ्नुहोस्

नेप्सेका अध्यक्ष र सीईओ ११ घण्टादेखि कार्यालयमै बन्धक

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार १५:१०