१८ पुष २०८२, शुक्रबार | Fri Jan 2 2026

साझा यातायातले सुरु गर्यो काठमाडौं–नारायणगढसम्मको यात्रा, भाडा ३०० मात्र

७ असोज, काठमाडौं । दशैं पर्वलाई लक्षित गर्दै साझा यातायातले काठमाडौं–नारायणगढ–काठमाडौं ननस्टप बस सेवा सञ्चालन गर्ने घोषणा गरेको छ ।

दशैंको बेला यात्रुहरुको चाप हुने भएकाले असोज ७ गतेदेखि असोज २० गते कोजाग्रत पूर्णिमासम्म काठमाडौंबाट चितवनको नारायणगढ र त्यहाँबाट काठमाडौं फर्किने गरी बस सेवा सुरु गरेको हो ।

काठमाडौं नारायणगढ र नारायणगढ काठमाडौंको एकतर्फी भाडादर ३ सय रुपैयाँ तय गरिएको छ । यो भाडा अन्य सवारी साधनको तुलनामा झण्डै आधा सस्तो हो ।लितपुरको पुल्चोकबाट लगनखेल, सातदोबाटो, कोटेश्वर, गौशाला, चक्रपथ, गोंगबु नयाँबसपार्क हुँदै कलंकीबाट बसहरु नारायणगढ प्रस्थान गर्ने छन् ।

कलंकीबाट साझा यातायातको पहिलो बस बिहान ७ बजे नारायणगढ प्रस्थान गर्ने छ । त्यसपछि क्रमश: ८, ९, १०, ११ र १२ बजे प्रत्येक एक घण्टाको अन्तरालमा बसहरु नारायणगढ प्रस्थान गर्ने छन् ।  यस्तै उक्त बस नारायणगढ पुगेपछि उताबाट यात्रु बोकेर पुनः काठमाडौंतर्फ फर्किने छन् ।

नारायणगढ पुगेपछि ती बसहरु यात्रुहरु लिई नारायणगढ बसपार्कबाट पुल्चोक हुँदै काठमाडौं फर्किनेछन् ।साझा यातायातले सिट वाहेक मुढामा बसेर यात्रा गर्न प्रतिवन्ध गरेको छ । यस्तै अनिवार्य रुपमा टिकट लिएर मात्रै यात्रा गर्नुपर्नेछ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार ११:२६