२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

जेनजी आन्दोलनले कुल गार्हस्थ्य उत्पादनमा ५ प्रतिशत नोक्सानी भएको अनुमान

७ असाेज, काठमाडाैं । नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल कमजोर बनेको बताएका छन् । आन्दोलनले निजी र सार्वजनिक संरचनाहरू ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको उहाँले बताउनुभयाे ।

नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरूत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै पाण्डेले कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ५ प्रतिशत नोक्सानी भएको जानकारी दिनुभयाे । ‘उद्योगहरूमा कुल जिडिपीको ५ प्रतिशत असर पुगेको छ, लगानीकर्ताका लागि लगानीको सुरक्षा महत्त्वपूर्ण कुरा हो, लगानीकर्तालाई सुरक्षा दिनका लागि सरकारले काम गर्नुपर्छ । अब छिट्टै माथि उठ्नका लागि वित्त र मौद्रिक नीतिबाट के कस्तो सुविधा दिन सकिन्छ, सरकारले त्यसतर्फ ध्यान दिन आवश्यक छ,’ उहाँले भन्नुभयाे  ।

उहाँले अब अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नु पर्ने धारणा राख्नुभयाे । ठूला उद्योगका लागि एउटा निश्चित समय निर्धारण तोकेर सहुलियत दिन सक्नुपर्ने सुझाव उहाँको छ । ‘सीएनआईले विभिन्न कानुनमा सुधार गर्नका लागि सुझाव दिएको छ, छरितो र बुझ्न सक्ने कानुन बनाउन जरुरी छ,’ उहाँले भन्नुभयाे ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार १२:४९