८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

गाडीको बिक्री बढाउन ऋण नीति लचिलो बनाउन आवश्यकः नाडा अध्यक्ष चौधरी

७ असोज, काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारी साधनको बिक्री बढाउन ऋण नीति फेर्न आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयका कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले दसैं, तिहार लगायत चाडपर्वमा हुने गाडीको व्यापार बढाउन तत्काल ऋण सम्बन्धी नीतिमा फेरवदल गर्न आग्रह गर्नुभएको हो ।

राजस्व संकलनको चुनौती सम्बोधन गर्न ‘लोन टु भ्यालु रेसियो’को व्यवस्था तत्काल परिवर्तन गर्नुपर्ने माग गर्नुभयो । नेपाल राष्ट्र बैंकले गाडी खरिद गर्दा ६० प्रतिशतसम्म ऋण दिन सक्ने व्यवस्था रहेको छ । यसअघि विद्युतीय गाडीमा ८० प्रतिशत र पेट्रोल तथा डिजेलजन्य इन्धनबाट चल्ने गाडीमा ५० प्रतिशत ऋण लिन सक्ने व्यवस्था रहेको थियो । अटो व्यवसायीहरुले ८० प्रतिशत पुर्याउन माग गर्दै आएका छन् ।

‘आन्दोलनको जगमा बनेको सरकारले ६ महिनामा निर्वाचन गर्ने तयारी गरेको छ । अहिलेको सबैभन्दा ठुलो चूनौती राजस्व संकलन देख्छु,’ अध्यक्ष चौधरी भन्नुहुन्छ ‘अटो क्षेत्रले सबैभन्दा बढी राजस्वमा योगदान दिदैं आएको थियो । दसैंको समयमा कुल अटो बजारको ६० प्रतिशत विक्री हुने गरेकोमा आन्दोलनले घट्दा राजस्व पनि घट्छ ।’

चौधरीले थप्नुभयाे ‘गाडी खरिद गर्ने सोचमा भएका ग्राहक अब आफ्ना अनिवार्य खर्चको लागि सञ्चित गर्छ । राष्ट्र बैंकले ‘लोन टु भ्यालु रेसियो’को नीतिमा तत्काल परिवर्तन गरी गाडी खरिद गर्ने वातावरण बनाउनु पर्नेछ ।’

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार १०:५०