२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

नेपालमा जेनजी आन्दोलन र अबको बाटो

-एन्जिला घिमिरे

‘देश बदल्ने सपना लिएर, युवाले हातमा कलम उठाऊँ

भ्रष्टाचारलाई अन्त्य पादै, नयाँ इतिहास रचाैँ’

वि.सं. २०८२ साल भाद्र २३ र २४ को आन्दोलनले नेपालभरी नै तहस-नहस भएको छ । नेपालमा गणतन्त्र आएको १८ वर्ष पनि नपुग्दै पुरै नेपाल ध्वस्त भएको छ । नेपाल आमाको मन रोएको छ । जेनजी पुस्ता एक हिसाबले यो देशको कर्णधार, देशको रक्षक र हाम्रो भविष्य । अर्को हिसाबले हेर्ने हो भने राजतन्त्रको अन्त्य भएर नेपाललाई राम्रो र असल बनाउन आएको यो गणतन्त्र । हो, नेताहरूले भ्रष्टचार गरे । उनीहरूले आफ्नो छोराछोरीलाई सम्पन्नशाली जीवन गुजारा गर्न दिए र नेपालको अवस्था नबुझी आफ्नो छोराछोरीहरू र नातागोताको बारेमा मात्र सोचे ।

नेताको छोराछोरीले आफुले बोक्ने एउटा साधारण ब्याग कम्तीमा पनि १५- २० लाख सम्मको हुन्छ । उनीहरूले यस्तो ब्याग बोक्नुको स‌ट्टा त्यो पैसा नेपालको बिकट क्षेत्रहरूमा लगानी गरेको भए अहिले हाम्रो देशमा यस्तो अवस्था आउने थिएन होला ! हो, यही कुरा अहिलेको पुस्तालाई असह्य भयो । त्यसपछि उनीहरू आन्दोलनमा उत्रिन बाध्य भए । आन्दोलन शान्तिपूर्ण नै थियो । त्यसैक्रममा आन्दोलनकारी माथि गोलीको वर्षा हुन पुग्यो । निर्दोष ती कलिला विद्यार्थीमाथि बर्बर दमन भयो ।

गोली चलाउन माथिको आदेश आएकै होला । आन्दोलनकारीलाई गोली हान्नु अघि कुनै आमाको कोख रित्तिएला, कुनै बुबाको आशा, भरोसा हराउला भनेर सोच्नुपर्थ्यो । यहि कारणले गर्दा पहिलो दिनको आन्दोलनमा २० जनाको मृत्यु हुन पुग्यो । त्यसैले गर्दा दोस्रो दिनको आन्दोलनले विकराल रूप लियो । उनीहरूले व्यक्तिगत सम्पतीमा तोड़फोड, आगजनीले राजनीतिक दलका नेता कार्यकर्ताको घर जलाइदिए । सावर्जनिक सम्पत्ति ऐतिहासिक धरोहर सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, प्रहरी चौकी जस्ता भौतिक संरचनाको नष्ट गरिदिए ।

dainiki.com

सिंहदरबार हाम्रो इतिहास थियो जुन केही क्षणको आवेग र उत्तेजनाले गर्दा क्षणभर मै खरानी भयो । यो जस्तो दुःखको कुरा अरु के नै हुनसक्छ र ? भ्रष्टाचारको अन्त्य र सुशासनको माग राखेर भएको आन्दोलनमा जेन-जी पुस्ताले विवेक र बुद्धि गुमाएपछि जेन-जीहरूले खरानी बाहेक केही प्राप्त गर्न सकेका छैनन् । अर्बाैँ भ्रष्टाचार गर्ने इतिहासको सबैभन्दा ठूलो राजमार्ग तयार भएको छ ।

भाटभटेनीमा आगो लगाएपछि त्यहाँ रोजगारीका अवसर पाउने हजारौं मानिसको घरको चुलो निभेको छ । अब के जेन-जीले यी मानिसलाई रोजगारी दिलाउला त ? भ्रष्ट्रचारविरुद्धको अख्तियार दुरूपयोग अनुसन्धान आयोग नै जलाएपछि के अब नेपालमा भ्रष्टाचारको अन्त्य भएको हो र ?

अब हाम्रो देश जसले जति राम्रो बनाउछु भने पनि पहिलेको जस्तो बन्न सक्दैन । अबको पुस्तालाई हामीले सिंहदरबार भनेर के देखाउने ? व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका को ती भौतिक संरचनाको के दोष थियो ? यो सबै हाम्रो देशको सान थियो । अहिलेको पुस्तालाई म भन्छु की पहिलेको राजनितिक दलहरूले जस्तो अन्तराष्ट्रिय सम्बन्ध, कुटनीतिक सम्बन्धको ख्याल राखेर अहिलेको पुस्ताहरूले सन्तुलित व्यवहार गर्न सक्दैन । अब हामी नेपाली- हरुको भविष्य शताब्दीऔँ पछाडि धकेलिएको छ ।

मानिसहरूलाई कहाँ जाँऊ र के गरी खाँउ भन्ने अवस्था आइसकेको छ । त्यसैले अब अहिलेको पुस्ताहरूले हिम्मत हार्नुहुँदैन। पुराना गल्तीहरुलाई सच्याउदै अब देशलाई कसरी सबल र सक्षम बनाउने भन्नेतर्फ लाग्नु पर्दछ, हामीले आफ्नो आशालाई गुमाउनु हुँदैन । नयाँ नेपाल इतिहासको समिक्षा गर्दै अब निर्माणको बाटोमा लाग्नुपर्दछ । सुरक्षा सहितको शिक्षा, स्वास्थ्य र रोजगारी तथा युग सुहाउदो विकासमा जोड दिएर मात्र ‘ नयाँ नेपाललाई सुखी र समृद्ध बनाउन सकिन्छ । सबै मिलेर र देशभक्तिको काम गर्नुपर्छ र देशलाई हामीले सामाजिक, राजनितिक र आर्थिक हिसाबले सम्पन्न बनाउन एक माना एकताका साथ अघि बढ्नु पर्दछ ।

“एकताको आवाज गुन्जाँऊ
समृद्ध नेपालको सपना सजाऊँ”

(घिमेर नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको पृथ्वी माध्यमिक विद्यालयमा अध्ययनरत हुनुहुन्छ । उहाँले हस्तलिखित रूपमा दैनिकीमा पठाउनु भएको विचार पनि हामीले तल प्रस्तुत गरेका छाैँ । तपाईले पनि जेनजी पुस्तालाई लेख्न र बोल्न प्रेरित गर्न सक्नुहुन्छ हामी उहाँहरूको आवाज यसैगरी समेट्दै जानेछौँ । सम्पादक) 

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार १२:०८