२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

अटोमोबाइल व्यवसाय सुधार गर्न प्रधानमन्त्रीलाई नाडाको २२ बुँदे सुझाव

६ असाेज, काठमाडाैं । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शुशिला कार्कीसँग भेटगरी मुलुकको वर्तमान जटिल अवस्था र त्यसले अटोमोबाइल व्यवसायमा पारेको प्रभावका विषयमा विस्तृत छलफल गरेको छ।

उक्त छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव एकनारायण अर्याल लगायत उच्चस्तरीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो। छलफलको क्रममा अध्यक्ष चौधरीले नाडा ७ वटै प्रदेशहरूमा सक्रिय भई सम्पूर्ण किसिमका अटोमोबाइल वस्तुहरूको प्रतिनिधित्व गर्ने ४९ वर्ष पुरानो संस्था भएको जानकारी गराउँदै, नाडाको भूमिकाबारे सरकारलाई आवश्यक जानकारी दिन नसकिएको गुनासो व्यक्त गरे।

उनले सरकारलाई नाडाले पेश गरेका सुझावहरूमध्ये केही मुख्य सुझावहरूलाई कार्यान्वयन गर्न सके मात्र पनि अटोमोबाइल क्षेत्रलाई पुनः सक्रिय बनाउन सकिने विश्वास व्यक्त गरे। साथै, आम व्यवसायीहरूको सुरक्षा, मुलुकमा शान्ति-सुरक्षा कायम हुनु, र व्यवसायमैत्री वातावरण निर्माण हुनु अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गर्दै व्यवसायीको सशक्त उत्थानका लागि सरकारले स्पष्ट रोड म्याप बनाउनुपर्नेमा जोड दिए।

अध्यक्ष चौधरीले नाडाको तर्फबाट २२ बुँदे सुझावपत्र समेत प्रस्तुत गर्दै अटोमोबाइल क्षेत्रका नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिएका थिए। साथै, हालै सरकारद्वारा गठन गरिएको उद्योग प्रवर्द्धन परिषद्मा नाडाको प्रतिनिधित्व सुनिश्चित गर्न अनुरोध गरे।

प्रधानमन्त्री कार्कीले व्यवसायीहरुले राखेका सुझावहरुलाई मनन गर्दै आन्दोलनको कारणबाट व्यवसायमा पर्न गएको क्षतिप्रति सरकार गम्भिर रहेको बताइन् ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार ११:०५