७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

कोरला नाकाबाट २०९ वटा ईभी र १०७ ट्रक सामान आयात

५ असाेज, काठमाडौं । कोरला नाकाबाट २०९ वटा विद्युतीय कार आयात भएको छ । रसुवाको रसुगढी नाका र तातोपानी नाका बन्द भएपछि मुस्ताङको सो नाका खुलेकाे हो ।

अर्थ मन्त्रालयका अनुसार असोज ४ गतेसम्म मुस्ताङ भन्सार कार्यालयबाट २०९ वटा विद्युतीय गाडी र १०७ वटा मालबाहक ढुवानी साधनमा रहेका मालवस्तु जाँचपास भएका छन् । यसबाट ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ राजस्व संकलन भएको छ ।

हाल यस नाकामा आसिकुडा प्रणाली समेत सञ्चालन भइसकेको छ ।  साथै, नेपाल राष्ट्र बैंकले भदौं ३१ गते जारी गरेको परिपत्रअनुसार मुस्ताङ भन्सार कार्यालयलाई पनि चिनियाँ भूभाग भई प्रतितपत्रमार्फत सामान आयात गर्न एकीकृत परिपत्र–२०८१ मा समावेश गरी सहजीकरण गरिएको छ।

गत असार २४ गते रसुवा जिल्लास्थित लेहेन्दे खोलामा आएको वाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रुपमा बन्द छ । तातोपानी भन्सार कार्यालय तर्फ कोदारी राजमार्गमा आएको पहिरोको कारण अवरोध भएको अवस्थामा भदौं ३० गतेदेखि मुस्ताङ भन्सार कार्यालय पूर्णरूपमा सञ्चालनमा ल्याइएको हो।

प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार १४:२९