नेपाल इन्स्योरेन्सको अवितरित हकप्रद सेयरमा आवेदन दिने म्याद थप
५ असोज, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयरमा बोलकबोल आवेदन पेश गर्ने म्याद थप गरिएको छ ।इन्स्योरेन्सले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म १० बराबर ३.४७८३ अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर लिलाम बिक्री गरेको हो। इन्स्योरेन्सले संस्थापक समूहतर्फ १ लाख ९२ हजार ५७४ कित्ता र सर्वसाधारणतर्फको ४ हजार ४६८.७६ कित्ता अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो।
सो सेयर खरिदका लागि अब असोज ८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
बोलकबोल पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।लगानीकर्ताले एनआईएमबि एस क्यापिटलको लाजिम्पाटस्थित कार्यालय, र क्यापिटलको पोखरा,बुटवल वीरगञ्ज र विराटनगर शाखा कार्यालयहरुबाट आवेदन पेश गर्न सक्नेछन् ।
प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार ०९:२३














