२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

बहुसांस्कृतिक आयोगद्धारा नेपाली समुदाय संग छलफल

एडिलेड । साउथ अष्ट्रेलियाको बहुसांस्कृतिक आयोगले साउथ अष्ट्रेलियाका नेपाली भाषी अगुवाहरु संग अन्तरक्रिया सम्पन्न गरेको छ ।

अगुवाहरुले नेपाली भाषी समुदायका समस्याहरुलाई आयोग अध्यक्ष लुइसा ग्रिको, सदस्य मञ्जु खड्का समक्ष राखेका थिए । नव आगन्तुक विद्यार्थीहरु समस्या देखी खेल मैदान, सभाहल लगायत बिषयमा अगुवाहरुले आफ्ना धारणा राखेका थिए ।

फेन्का अष्ट्रेलिया उपाध्यक्ष कपिल पाण्डेले पछिल्लो समय बढ्दै गएको नेपाली समुदायका क्लवहरुले खेल मैदानहरु नपाएको समस्या र विभिन्न कार्यक्रमका लागि सरकारले दिने सहयोग रकमका बिषयमा देखिएका समस्या दर्शाएका थिए । पुन्य फाउन्डेशनका अध्यक्ष काशी पौडेलले फाउन्डेशनले सामुदायिक भवन निर्माणका लागि खरिद गर्न लागेको जग्गामा कर लगायतका समस्या वारे आयोगको ध्यानाकर्षण गराएका थिए । एनआरएनए साउथ अष्ट्रेलिया संयोजक थीर गुरुङले पढाई, काम लगायतका समस्याले केहि नव आगन्तुक विद्यार्थीहरुमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिएको बताए । गुरुङले नेपाल महोत्सवमा साउथ अष्ट्रेलिया सरकारले गरेको  सहयोगको लागि आभार समेत व्यक्त गरेका थिए ।

फेन्का अष्ट्रेलियाका प्रवक्ता सुरेन्द्र रेग्मीले नेपाली समुदाय संग छलफल गरेकोमा आयोगलाई धन्यवाद दिदै नेपाली समुदायमा पछिल्लो समय बढ्दै गएको घरेलु हिसां सम्वन्धी बिषय उठान गर्दै त्यसको न्युनीकरणका चेतनामुलक कार्यक्रम संचालन गर्नु पर्ने बताए ।

म्यारियन काउन्सिलकी काउन्सिलर रेनुका लामाले काउन्सिलले बहुसांस्कृतिक समुदायका लागि गर्न लागेको कार्य योजना माथी प्रकाश पार्दै नेपाली समुदायका ३३ भन्दा बढि सामुदायिक संस्था भएको तिनलाई राज्य सरकारले थप सहयोग गर्नु पर्ने बताईन ।

फेन्का साउथ अष्ट्रेलियाका संयोजक पुष्कर कोईरालाले सामाजिक संस्थाहरुलाई सरकारले दिदै आएको सहयोग रकमको सिलिङ थोरै भएकाले बढाउनु पर्नेमा जोड दिएका थिए ।

एनआरएनए अष्ट्रेलिया नारी निकुञ्ज संयोजक रिज्नु अधिकारीले साउथ अष्ट्रेलियामा दिईने मानसिक स्वास्थ्य सम्बन्धी काउन्सिलिङमा सम्बन्धी व्यक्ति हुर्केको संस्कृति र भाषाका समस्याले सोचे प्रभावकारी हुन नसकेको बताईन ।

सामाजिक अगुवा अनिल उपाध्यायले केहि नव आगन्तुक विद्यार्थीमा जुवाको लतले समस्या देखिएको बताउदै डेरा लगायत बिषय नव आगन्तुकहरुका लागि समस्या भएको बताए ।

नेपाली समुदायका अगुवा दिपक बिष्टले नेपालका कानुन र परम्परा भन्दा अष्ट्रेलियाका कानुन र परम्परा निकै पृथक् भएका कारणले नव आगन्तुकहरु नजानजानि फस्ने गरेको बताए ।

साउथ अष्ट्रेलियाका लागी नेपाल सरकारका बाणिज्यदुत दिपक धमला समेतले नेपाली समुदायको समस्याका बिषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा भुट्नीज नेपाल विद्यालय प्राचार्य लोक पौडेल, नेपाली पाठशाला पुर्व अध्यक्ष अनिता पराजुली, तमु धी साउथ अष्ट्रेलिया अध्यक्ष सिमा गुरुङ, गुठी साउथ अष्ट्रेलिया अध्यक्ष गौरव राजकर्णिकार लगायतका वक्ताहरुले नेपाली समुदायका समस्या राखेका थिए ।

कार्यक्रमको समापनमा सदस्य मञ्जु खड्काले उठेका समस्याहरुलाई प्रतिवेदनका रुपमा आयोगले साउथ अष्ट्रेलिया सरकार समक्ष पेश गर्ने जानकारी दिईएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार १९:२४