२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

जेनजी विद्रोहः नेतृत्वको असक्षमताले प्रहरीको मात्र लुटियो २९६४ थान हतियार

-माधवप्रसाद तिवारी 

४ साउन, काठमाडौँ । जेनजी व्रिद्रोहको वहनामा रानीपोखरीस्थित काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट करिब १५ सय हतियार लुटिएको पाइएको छ । कार्यालयमा प्रमुखको रूपमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की सोही दिन हाजिर हुनुभएको थियो । त्यसअघि निमित्तको भरमा कार्यालय सञ्चालन भैरहेको थियो ।

कार्की नेतृत्वको कार्यालयको कमाण्ड कमजोर हुँदा काठमाडौँ उपत्यकाका धेरै प्रहरी चौकी प्रदर्शनकारीले आगजनी गरेर खरानी बनाएका थिए भने हतियार पनि लुटेका थिए । बानेश्वर र महाराजगञ्ज बृत्तका प्रहरीमाथि प्रदर्शनकारीले यातनासहितको दूर्व्यवहार गर्दा पनि नेतृत्वले मौनता साँधेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

ल्होत्सेको लुटपाटदेखि भदाै २४ को लुटपाट र आगजनीसम्म

भदौ २४ को शैलीमा कार्की नै काठमाडौँ प्रहरी प्रमुख हुँदा २०७९ फागुनमा नयाँबसपार्कको ल्होत्से मलमा लुटपाट र तोडफोड भएको थियो । प्रहरीले यातायात व्यवसायीको प्रदर्शन नियन्त्रणमा लिन सक्ने पर्याप्त अवसर हुँदाहुँदै पनि मलमा लुटपाट र तोडफोड भएको थियो ।

उनै कार्की काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुखमा हाजिर भएकै दिन पुरै काठमाडौँ लुटपाट, तोडफोड र आगजनीबाट प्रताडित बन्न पुग्यो ।  प्रहरी शून्यताको अवस्थामा पुग्यो । कार्कीले आफ्नै कार्यालय र कार्यालयमा भएको हतियार समेत जोगान सकेको देखिएन । यद्यपी हतियार जोगाउन नसकेको हो वा नचाहेको भन्ने कुरा भोलिका दिनमा न्यायिक आयोगहरू बनेर अनुसन्धान होला र त्यसपछि आउने प्रतिवेदनले भन्ला जे होस्, कमान्डमा प्रहरी चुकेको कुरा अब कसैगरी लुक्न सक्दैनन् । समग्रमा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङको नेतृत्व असफल बनेको हो ।

प्रदर्शनकारी फरक फरक ठाउँमा केन्द्रीत भएका कारण रानीपोखरीमा रहेको कार्यालयबाट हतियार नै छाडेर प्रहरी भाग्नुपर्ने अपस्था थिएन तर प्रहरीले हतियारसहित कार्यालय छाडेर हिँडेपछि आन्दोलनकारीले लुटपाट र आगजनी गरेका थिए । स्रोतका अनुसार कार्यालय प्रदर्शनकारीको कब्जामा पुगेपछि कार्की स्वयम् भने नेपाली सेनाको मुख्यालय भद्रकालीको शरणमा पुगेका थिए । हतियार र कार्यालय जोगाउन प्रहरीले भूमिका नै नखेलेको देखिएको छ ।

dainiki.com

नेपाल प्रहरीले अहिलेसम्म कुल कति हतियार लुटिएको भन्ने एकिन विवरण तयार गरिसकेको छैन । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उपत्यका प्रहरी कार्यालयबाट मात्रै झण्डै एक हजार थान पेस्तोल नै लुटिएको छ । प्रधान कार्यालयले हतियारको विवरण मागेको भए पनि अहिलेसम्म कार्यालयले त्यसको एकिन विवरण दिन सकेको छैन ।

केन्द्रीय प्रहरी प्रवक्ता समेत रहनुभएको प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे दैनिकीसँग कुरा गर्दै अहिलेसम्म हतियारहरू लुटिएको, हराएको वा जलेको बारेमा एकिन विवरण प्राप्त भैनसकेको बताउनुहुन्छ । उहाँले प्रहरी नायव महानिरीक्षक दीपक रेग्मीको संयोजकत्वमा देशभरि आगजनी र तोडफोड गरिएका भवन तथा लुटिएका हतियार, गोली, बर्दीको विवरण संकलन गर्न एउटा समिति गठन गरिएको र उक्त समितिले प्रतिवेदन दिएपछि मात्र आधाकारिक विवरण प्राप्त हुने बताउनुभयो ।

लुटपाट र आगजनीमा परेका नेपाल प्रहरीका देशभरको हतियारको प्रारम्भिक संख्या

प्रहरी प्रधानकार्यालय स्रोतका अनुसार अहिलेसम्म प्रारम्भिक रूपमा प्राप्त भएको विवरण अनुसार २ हजार ९ सय ६४ हतियार र १ लाख ६८ हजार ७ सय ९८ थान धातुको गोली लुटपाट र अागजनीमा परेका छन ।

राईफल ११९० हराएका छन । जसमा एसएलआर राईफल ३२३ थान, इन्सास राईफल ३२६ थान, ३०३ राईफल २७५ थान, हर्नेट राईफल २१५ थान, मार्कफोर राईफल ६ थान र २२ म्याग्नम ४५ थान रहेका छन । यसमा लाग्ने धातुको गोली १ लाख ३७ हजार ७ सय ४३ थान रहेका छन ।

यस्तै सर्टगन ३ सय ४४ थान र त्यसमा लाग्ने धातुको गोली ७ हजार १ सय ७८ थान लुटिएको छ । जसमा विविध प्रकारका सर्टगन ३२८ थान, फोल्डिङ र ननफोल्डिङ सर्टगन १५ थान र १२ बोर सर्टगन १ थान रहेका छन ।

यस्तै ६ सय ४७ थान पेस्तोल लुटिएका छन । त्यसमा लाग्ने १३ हजार ७०५ थान धातुो गोली समेत लुटिएको छ । लुटिएका पेस्तोल चार प्रकारका रहेका छन । जसमा टाइम ५४ पेस्तोल ३३४ थान, टाइप ७७ पेस्तोल २८ थान, नाइनएमएम पेस्तोल ११३ थान र ३८ स्पेशल रिभल्बर १७३ थान रहेका छन । यस्तै सबमेशिन गन (एसएमजी) ३३ थान लुटिएका छन । ग्यास गन ६८८ वटा लुटिएका छन ।

यस्तै अन्य हातहतियार ५८ थान लुटिएका छन । जसमा मिश्रित शास्त्र ३२ थान, भरूवा बन्दुक १४ थान, सानो चापे ४ थान र चूलो चापे ८ थान रहेका छन । यस्तै क्षतिग्रस्त भएका हतियारमा इन्सास १ थान फुटेको, टा ५४ पेस्तोल १ थान जलेको, ग्याँसगन १ थान लुटपाट भएको र एक थान सर्टगन ट्रेगर गार्ड भाँचिएको अवस्था भेटिएको छ ।

प्रहरी स्रोतका अनुसार २ हजार ९ सय ६४ हतियार लुटपाट र आगजनीमा परेको छ । त्यस्तै धातुको गोली १ लाख ६८ हजार ७ सय ९८ थान लुटपाट र आगजनीमा परेका छन । सोही क्रममा रबरका ८ हजार ३ सय ५९ गोली पनि लुटपाटमा परेको छ ।

प्रहरी स्रोतका अनुसार कार्यालयमा तोडफोड र आगजनी हुँदा पनि भक्तपुरको ठिमी  र काठमाडौँको कालिमटी बृत्तका प्रहरीले हतियार जोगाएका थिए । प्रहरीले लुटिएका हतियार र गोलीहरू फिर्ताका लागि सूचना त जारी गरेको छ तर अहिलेसम्म हतियार फिर्ता भएको छैन । बरू नेपाली सेनाले लुटिएका केही हतियार बरामद गरिदिएको छ ।

प्रहरी ऐन भन्छ हतियार छाड्नेहरूलाई जन्मकैद

प्रहरी ऐन, २०१२ अनुसार प्रहरीले आफ्नो साथ वा जिम्मामा रहेका हातहतियार र खरखजानाको सुरक्षा गर्नु उसको प्रमुख कर्तव्य हुन्छ । आफूसँग वा आफ्नो जिम्मामा रहेका हातहतियार आक्रमणकारीलाई सुम्पिन मद्दत गरेमा आजन्म कैद वा १४ वर्षसम्म जरिवाना हुने व्यवस्था छ।

ऐनको परिच्छेद ६ को अपराध र सजाय खण्डमा दफा ३३ को (क)मा  कडा अपराधहरूमा आजन्म कैद वा चाैध वर्षसम्म कैद वा तीन वर्षसम्मको तलब जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ । जसको उपदफा (ङ) मा उल्लेख गरिएको कसुर भदाै २४ मा भएको देखिन्छ । जसमा थाना, चौकी, गराद, पालो पहरा आदि र आफूसाथ वा आफ्नो जिम्मामा रहेको हातहतियार, खरखजाना अन्य सरकारी धनमला र कागजातहरू आक्रमणकारीहरूलाई सुम्पी मद्दत गरेमा भन्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार १४:३४