२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

जेनजी आन्दोलनलाई तीन चरणमा विभाजन गर्दै एमाले उपमहासचिव ज्ञवालीको गम्भीर खुलासा

-पवित्रा मुडभरी

३ असोज, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जेनजी आन्दोलनका मागहरू पूर्ण रूपमा जायज रहेको बताउनुभएको छ। उपमहासचिव प्रदीप ज्ञवालीले ती मागहरूलाई ढाल बनाउँदै आन्दोलनलाई हिंसात्मक मोडमा पुर्‍याएर सत्ता पल्टाउने गम्भीर षड्यन्त्र रचिएको खुलासा गर्नुभएको हो ।

शुक्रबार एमाले नुवाकोटले संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पाँचौं विस्तारित बैठकलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले गत भदौ २३ गते माइतीघरमा भएको जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएपछि निर्दोष युवाहरूको हत्या भएको दाबी गर्नुभयो।

जेनजीले बगैँचाको फूल नटिप्ने, सडक फोहोर नगर्ने, विरूवा नभाँच्ने, निषेधित क्षेत्र नतोड्ने भनेर सुरू गरेको शान्तिपूर्ण आन्दोलनमा विभिन्न स्वार्थ समूहले घुसपैठ गरी संसद भवनसम्म प्रवेश गरेर तोडफोड गर्दा स्थिति नियन्त्रणबाहिर गएको तर्क गर्नुभयो ।

भदौ २३ र २४ गतेको घटनाले आजसम्म झस्काइरहेको बताउँदै उपमहासचिव ज्ञवालीले उक्त आन्दोलनलाई तीन चरणमा विभाजन गरेर विश्लेषण गर्नुपर्ने बताउनुभयो ।

पहिलो चरणः

उपमहासचिव ज्ञवालीका अनुसार पहिलो चरण भदौ २३ गते विहानदेखि मध्यान्ह १२ः४० बजेसम्म चलेको शान्तिपूर्ण प्रदर्शन थियो । जुन पूर्ण रूपमा जेनजीको नेतृत्वमा शान्तिपूर्वक चलिरहेको थियो । जेनजीले आफ्ना मागसहित नारा लगाइरहेका थिए ।

ज्ञवालीले उक्त दिन संयोगले बानेश्वरमा नै पुगेको उल्लेख गर्दै भन्नुभयो, “शिक्षक आन्दोलनमा समेत पाँचरछ सय प्रहरी तैनाथ गरिएको ठाउँमा उक्त दिन थोरै प्रहरी मात्र उपस्थित थिए। प्रहरीको सानो घेरा आन्दोलनकारीले सजिलै तोडेर निषेधित क्षेत्र प्रवेश गर्न थालेपछि भृकुटीमण्डप जान लागेको मान्छे बानेश्वरबाटै हतारमा फर्कन बाध्य भएँ।”

उपमहासचिव ज्ञवालीले प्रश्न गर्नुभयो, शान्तिपूर्ण आन्दोलन गरिरहेका युवाहरू एक्कासी किन निषेधित क्षेत्रमा प्रवेश गरे ?

दोस्रो चरणः

निषेधित क्षेत्र तोडेर अगाडि बढेको भिड जब संसद भवनभित्र पसेर तोडफोडमा उत्रिए । प्रहरीले भिड नियन्त्रण गर्न गोली चलायो । निर्दोश युवाहरूको टाउको र छातीमा गोली लाग्यो । केहीको त्यहीँ मृत्यु भयो भने केही अस्पताल पुगेर मृत घोषित भए ।

dainiki.com

शान्तिपूर्ण आन्दोलनमा हिंसा भड्किएपछि जेनजीका प्रतिनिधिले उद्देश्य पूरा भएको र आन्दोलनमा घुसपैठ भएको जनाउँदै आन्दोलन स्थगनको घोषणा गरेका थिए।  विज्ञप्ति जारी गर्दै उनिहरूले आन्दोलनमा घुसपैठ भएकाले आफ्ना साथिहरूलाइ तुरून्त घर फर्कन आग्रह गरे । तर स्थिति नियन्त्रणबाहिर गयो । फलस्वरूप १९ जना निर्दोश युवाको ज्यान गयो ।

ज्ञवालीको पुनः प्रश्न गर्नुहुन्छ, जेनजीका प्रतिनिधिले फर्कन आग्रह गर्दा पनि उक्त भिड किन सान्त भएन ?

तेस्रो चरणः

भदौ २४ गते विहानैदेखि देशव्यापी रूपमा हिंसात्मक आक्रमण सुरू भयो । सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, राष्ट्रपति भवनजस्ता राष्ट्रका प्रमुख संवैधानिक संस्थाहरूमाथि लक्षित रूपमा आक्रमण भयो । सर्वोच्च अदालतको आगजनी र तोडफोडपछि फौजदारी अभियोग हेर्ने इजलासमा आक्रमण भयो ।

ठूला जग्गा कारोबारसम्बन्धी मुद्दा हेर्ने इजलासमा समेत छानीछानी आगजनी गरिएको भयो। यस्तै महान्यायाधिवक्ताको कार्यालयमा कम्प्युटर फुटाएर हार्ड डिस्क निकालेर नष्ट गरिएको थियो। सहकारी ठगसम्बन्धी फाइल हेरिरहेको अदालतमा आगजनी र तोडफोड भयो ।

नेताहरूका घरमा भएको आगजनी र तोडफोडलाई सामान्य आक्रोश मान्न सकिने भए पनि व्यापारिक भवन, अदालत, प्रहरी चौकी, भाटभटेनी सुपरमार्केट, अन्तर्राष्ट्रिय होटलहरूमा भएको आक्रमणले राज्यको मेरुदण्ड नै भाँचिने काम भयो ।

राजनीतिक दल, लोकतन्त्र र अर्थतन्त्रका मेरुदण्ड व्यवसायीहरूको ढाड, सुरक्षा निकायको ढाड, वडास्तरसम्मका जनप्रतिनिधिको ढाड भाँच्ने काम २३ गतेको आक्रोश मात्रै हुन नसक्ने उहाँको तर्क छ ।

योजनाबद्ध तयारीः

ज्ञवालीले भदौ २४ गते घटेका घटनाहरू एकैदिनको योजना नभई लामो समयदेखि योजनाबद्ध रूपमा गरिएको षड्यन्त्र भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गुगल म्यापमार्फत म्यापिङ गरेर नेताको घर कहाँ छ भनेर योजना बनाइएको थियो। को–को कहाँ जान्छ भन्ने कोडसहितको म्याप एकदिनमा बन्न सक्दैन। यो महिनौँ अघिदेखि तयार पारिएको योजना हो।”

देशी–विदेशी शक्तिको संलग्नता र षड्यन्त्रः

ज्ञवालीले यो सम्पूर्ण घटनामा देशी र विदेशी शक्तिहरूको संलग्नता रहेको उल्लेख गर्दै जनताको असन्तुष्टिलाई जबरजस्ती भड्काएर रक्तपात निम्त्याउने खेल भएको आरोप लगाउनुभयो।

उहाँले भन्नुभयो, “शान्तिपूर्ण आन्दोलनलाई मुठभेडमा लगेर रगत बगाउने र त्यसलाई बहाना बनाएर सत्ता परिवर्तनको प्रयास गर्ने गम्भीर षड्यन्त्र गरिएको हो। यसको सिकार निर्दोष युवा भएका छन्। सत्यतथ्य चाँडै बाहिर आउनेछ भन्ने आशा छ।”

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार ०१:२३