राजनीतिक दललाई कमजोर बनाएर लोकतन्त्र अघि बढ्दैनः शंकर पोखरेल
३ असाेज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दललाई कमजोर बनाएर लोकतन्त्र अघि नबढ्ने बताउनुभयो । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रवार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे ।
उहाँले ‘जेनजी’ प्रदर्शनका नाममा राजनीतिक दलका कार्यालयमा गरिएको आक्रमण लोकतन्त्रलाई कमजोर पार्ने सुनियोजित षडयन्त्र भएको बताउनुभयो ।
महासचिव पोखरेलले भदौ २४ गते सिंहदरबार लगायतका प्रशासनिक भवनमा गरिएको आक्रमण नेपालको पहिचानलाई समाप्त पार्ने षडयन्त्र भएको दाबी गर्दै राम्रो नीति र कार्यक्रम लिएर आउने दललाई संविधानले नरोकेकाले सोहीअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
“बलिदानपूर्ण योगदानबाट आएका राजनीतिक दललाई राजनीतिबाट निषेध गर्ने कुरा लोकतन्त्रमा स्वीकार्य हुन सक्दैन । नवयुवाको आन्दोलनका नाममा जुन प्रकारका उद्देश्य मिसाउन खोजियो ती लोकतन्त्रलाई कमजोर पार्ने क्रियाकलाप हुन् । राजनीतिक दललाई निषेध गरेर लोकतन्त्रलाई बलियो बनाउन सकिँदैन”, उहाँले भन्नुभयो ।
प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार १४:४२












