संविधान बचाउन मैले सहजीकरण गरेँः प्रचण्ड
३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान बचाउन र अन्तरिक सरकार गठनका लागि आफूले सहजीकरण गरेका बताउनुभएको छ ।
शुक्रवार संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा बोल्दै जेनजी आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढलेपछि संविधान र राष्ट्रपति संस्था पनि खारेज गर्न लागिएको दाबी गर्दै प्रचण्डले आफूले बचाउन सहजीकरण गरेको बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘इतिहासले, घटनाक्रमले र संयोगले यो प्रक्रियामा कुनै न कुनै रुपले सहजीकरण गर्ने अवसर दियो मलाई । मैले संसद विघटन मात्रै होइन । संविधान खारेज गर्ने र राष्ट्रपति हटाउन के कस्ता कसरत भए भन्ने कुरा नजिकबाट हेर्ने, बुझ्ने अवसर पाए । अन्तिममा हुन सक्ने जति सहजीकरण रातभर बसेर सम्माननीय राष्टपति, प्रधानसेनापति र अन्य दलका नेताहरुसँग संवाद गरेर संविधान बचाउन आग्रह गरे ।’
राष्ट्रपति रामचन्द्र पौडेलसहित सेनापति र अन्य दलका नेताहरूसँग संवाद गरेर अन्तरिम सरकार बनाएर संविधान बचाउन भूमिका खेलेको उहाँको भनाई छ ।
प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार ११:५०












