बालुवाटारबाट भागेका ओली व्यारेकबाट एमाले चलाउँदै, नेताहरू पुनर्गठनको बहसमा
२ असोज, काठमाडाैँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली भदौ २३ गतेको जेनजी युवाहरूको प्रदर्शन र सरकारी दमनपछि भदौ २४ गते भएको विद्रोहपछि प्रधानमन्त्री निवास बालुवाटारबाटै भागेर नेपाली सेनाको व्यारेकमा बस्दै आउनुभएको छ । प्रधानमन्त्री भएपछि पछिल्लो १५ महिना यता बालुवाटारबाटै पार्टी चलाउँदै आउनुभएको उहाँले पछिल्लो एक सातादेखि पुनः व्यारेकबाट पार्टी सञ्चालन गर्दै आउनुभएको छ ।
जेनजी पुस्ताको विद्रोहबाट ओली नेतृवको सरकार मात्र ढलेन राजनीतिक दलहरूको हातबाट सत्तानै खुस्किएर नागरिक सरकारको नाममा गैरदलीय अन्तरिम सरकार बन्न पुगेको छ । उक्त अन्तरिम सरकारले जनताको आवाज मुखरित गर्ने प्रतिनिधिसभा विघटन गरेको छ भने राष्ट्रियसभाको अधिवेशन पनि अन्त्य गरिदिएको छ । प्रदर्शन र विद्रोहमा गरी ७४ जना नागरिकले ज्यान गुमाएका छन भने महत्वपूर्ण र ऐतिहासिक भौतिक संरचनाहरू आगजनीबाट ध्वस्त भएका छन । भ्रष्टाचारको विरूद्धमा आवाज उठाउन सडकमा आएका युवा विद्यार्थी माथि ओली सरकारले गोली चलाउँदा २० जनाको निधन भएको थियो त्यसको प्रतिक्रिया स्वरूप उत्पन्न विद्रोहले ओलीको सत्ता नै खरानी बनाइदियो ।

राजनीतिक दलहरूले सत्तामात्र हैन सडक पनि गुमाएका थिए विद्रोहको त्यस दिन । अरू समयमा गुण्डागगर्दीको संरक्षण गरेको र गुण्डाहरूलाई राजनीतिक दलको सदस्य दिएर राजनीतिको अपराधिकरण गरेको आरोप खेप्ने दलहरूले त्यस दिन तीनै गुण्डाको पनि साथ पाउन सकेनन् अर्थात उनीहरूका शीर्ष नेताको निवास र पार्टी कार्यालयहरू जले उनीहरूले कुटाइ खाए । तर उनीहरूले संरक्षण गरेर पालेका गुण्डाहरूले नजिकबाट अनुहार पनि देखाएनन् । त्यसदिनको तोडफोड र आगजनीको अवस्था हेर्दा धेरैले देश कम्तिमा २० वर्ष पछाडि पुगेको भनेर विश्वलेषण गरिरहेका छन ।
यी सबै घटनाक्रम प्रमुख दलका शीर्ष नेताहरूको अहंकार र घमण्डका कारण भएको र नेतृत्व असफल भएको भन्दै अहिले पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको बहस निकै चर्किएको छ । अन्तरिम सरकारले फागुन २१ का लागि प्रतिनिधिसभाको निर्वाचन तोकिसकेको कारण ती दलका युवा नेताहरूले वर्तमान नेतृत्वकै बलमा चुनावमा सहभागी हुन कठिन हुने बताइरहेका छन ।
यो बहसमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन । नेपाली कांग्रेसका नेता र कार्यकर्ताको ठूलो पङ्ती सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्नेमा एकमत जस्तो देखिन्छ । उनीहरूले सामाजिक सञ्जलामा यस विषयमा चर्को बहस र छलफल जारी राखेका छन ।
त्यस्तै एमालेमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने नेताहरूको समूह पनि ठूलो देखिएको छ । एमालेमा ओलीको विकल्प खोज्नेमा नेताहरू भन्दा बढी कार्यकर्ता देखिएका छन । एमालेका सय भन्दा बढी नेताले त ओलीकै कारण वर्तमान अवस्था आएको भन्दै पार्टी नै छाड्ने घोषणा गरेका छन । विगतमा ओलीले सत्ताको दुरूपयोग गरेर दुःख दिन सक्छन भन्ने संशय पालेर आन्तरिक लोकतन्त्रका लागि आवाज उठाउन नसकेका नेता कार्यकर्ताहरू पनि अहिले बोल्न थालेका छन ।
एमालेमा नेतृत्वको विकल्प खोज्ने मात्र होइन नेतृत्वको विकल्पको बारेमा कुरै सुन्न नचाहनेमा महासचिव शंकर पोखरेल, प्रदीप ज्ञवाली, महेश बस्नेत, ऐन महर लगायत रहनुभएको छ । उहाँहरू नेतृत्व कमजोर बनाउन नहुने भन्दै बलियो बनाउने अभियानमा केन्द्रीत हुनुभएको छ । यद्यपी बहुमत नेता र कार्यकर्ताहरू भने ओलीकै कारण देशले यो गति व्यहोर्नुपरेको भन्दै अब नसच्चिए सक्किनका लागि तयार रहनुपर्ने चेतावनी दिइरहेका छन ।
एमाले सच्चिएर अघि बढ्नुपर्छ भन्नेमा पोलिटब्यूरो सदस्य गोकुल बास्कोटा पनि देखिनुभएको छ । कसैको नाम नलिइकन विषयका बारेमा चोटिलो टिप्पणी गर्न माहिर मानिने बास्कोटाले बुधबार फेसबुक मार्फत पार्टीमा संस्थापन भनेर गर्व गर्नेहरूले नै देशभरी गुट बनाएको र तीनै गुटले विधान मिचेर आदेशमा पार्टी चलाएको आरोप लगाउनु भएको छ ।

पार्टी महासचिव पोखरेल लगायतले पार्टी एकतावद्ध बन्नुपर्ने भन्दै सुगा रटाइ फेसबुकमा पोखरिरँदा बाँस्कोटाले भन्नुभएको छ, ‘जसले ०७८ पछि छदै नभएको गुट देशभरी कागति निचोरेर दुध फटाए झै बनाए, विधान हैन आदेश चलाए, तीनले एकताको मर्म बुझ्नु राम्रो हो । पत्याउन यसर्थ कठिन छ कि रोग फरक छ -तर तिनीहरु अझै वेपर्वाह सबै रोगको एउटै ओखती सिफारिस गर्दैछन। आफ्टर सक्डको प्रतिक्षामा म जुजुमान भैरहने कि जवज अनुरुप हिड्ने ?’

पार्टीको मुल नेतृत्वमात्र नभइ महासचिव भन्दा माथिका सबै नेता विदा गर्नुपर्ने र पार्टीको नेतृत्व पुस्तान्तरण गर्नुपर्ने आवाज चर्किरहेको समयमा महासचिव पोखरेलले भने फेरि ८ बुँदामा नारा सिफरिस गर्दै नेताहरूई यो गरौँ र त्यो गरौँ भन्ने विषय सार्वजिनक गर्नुभएको छ ।
उहाँले सार्वजिनक गरेको मनन गर्नुपर्ने कुरा यत्तो छ, ‘नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गरौँ। त्यसको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हर्कत र विध्वंसको विरोध गरौँ। नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाऔँ। जनतासँगको सम्बन्धलाई जिवन्त र घनिष्ठ बनाऔँ । जनपक्षीय जीवनशैली र आचरणमा जोड दिऔँ । आन्तरिक एकतामा जोड दिऔँ, पार्टी पंक्तिको मनोबल उच्च बनाऔँ। संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बनौँ र बनाऔँ । लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यमा जोड दिऔँ । जबजको जगमा उभिएको हाम्रो पार्टी र आन्दोलनले वर्तमानका सबै चुनौतीलाई सम्बोधन र समाधान गर्न सफल हुनेछ।’
यस्तै एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराईले प्रतिकूलता आज मात्र आएको होइन विगतमा पनि हामीले धेरै कठिन क्षणहरू व्यहोरेका थियौँ भन्दै विषय मोड्ने प्रयास गर्नुभएको छ । उहाँले विगतको प्रतिकुलतामा पनि देशभक्त, इमानदार र पार्टीप्रति बफादार कार्यकर्ता पंक्तिले नै एमाले र आन्दोलनलाई जोगाएको भन्दै अहिले पनि त्यसो गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘यी सबै प्रतिकुलतामा देशभक्त, इमानदार र पार्टीप्रति बफादार कार्यकर्ता पंक्तिले नै एमाले र आन्दोलनलाई जोगाएका हुन् । तसर्थ आजको प्रतिकुलतामा पनि त्यहि पंक्ति र त्यसबाट प्रशिक्षित नयां पुस्ता सहितले यस कठिनाइलाई पनि अवसरमा रूपान्तरण गर्दै अघि बढाउनेछ र यो विषम परिस्थितिलाई पनि पार लगाउने छ भन्ने विश्वास ।’
पार्टी अध्यक्ष ओलीलाई अहिलेको अवस्थामा पुर्याउन सहयोग गर्ने मध्येको एक भनेर चिनिनुभएको भट्टराईले अहिले नेतृत्वको रक्षामा जोड दिँदै पुस्तान्तरण र हस्तान्तरणको बहस आवश्यक नभएको तर्क प्रस्तुत गर्नुभएको छ ।
एमालेमा वर्तमान नेतृत्वको कारण यो सबै समस्या सिर्जना भएको निष्कर्षसहित उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव गोकर्ण विष्ट, नेता रचना खड्का लगायतले पनि सामाजिक सञ्जलाबाटै यसबारेमा धारणा सार्वजनिक गर्नुभएको छ ।
काठमाडाैँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले पनि एमालेको नामै नलिइ अब नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्ने कुरा उल्लेख गर्नुभएको छ । एमाले नेतृ समेत रहनुभएको डंगोलले नेपाल अब नयाँ पुस्ताको काँधमा र सहि बाटोमा अघि बढाऔँ भन्ने अपिल नै गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘इमान्दार नेतृत्व, स्पष्ट दृष्टि र जनताको विश्वाससहित हामीले स्वमूल्याङ्कन गर्नुपर्छ र एकजुट भई सहिदको बलिदानलाई न्याय दिनुपर्छ। र पुनर्निर्माणमा जुट्न हामी सबैको दायित्व हो । नेपाल अब नयाँ पुस्ताको काँधमा र सहि बाटोमा अघि बढाऔं ।’

यस्तै नेकपा माओवादी केन्द्रमा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व छाड्नुपर्ने आवाजहरू उठेका छन । पार्टी उपमहासचिव जनार्दन शर्मा प्रभाकरले त प्रचण्डलाई खुला रूपमै पार्टीको नेतृत्व छाड्न आग्रह गर्नुभएको छ । उहाँको आवाजमा बल दिन अन्य माओवादीका नेता र कार्यकर्ताले पनि यस विषयमा आवाज बुलन्द पार्ने प्रयास गरिरहनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टीले त भ्रष्टाचार र ठगीको मुद्दा लागेका अध्यक्षहरू क्रमशः माधवकुमार नेपाल र रविल लामिछानेको पूजा नै गरेर बसिरहेका छन । ती पार्टीमा नेतृत्व हस्तान्तरणको आवाज निकाल्नेहरू किनारामा परेका छन । नेपाललाई पार्टी छाड्न अनुरोध गर्ने झलनाथ खनाल नै कारबाहीको डिलमा पुग्नुभएको छ भने रविको बारेमा प्रश्न गर्ने सुमना श्रेष्ठहरूले पार्टी नै छाडिसक्नुभएको छ ।
प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार ०९:०४








