२७ माघ २०८२, मंगलवार | Wed Feb 11 2026

जनार्दनले मागे प्रचण्डको राजीनामा

३१ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) काे राजीनामा माग गर्नुभएकाे छ । शर्माले जेनजी आन्दोलनको संश्लेषण र आगामी बाटोबारे राखेको प्रस्तावमा अध्यक्षबाट प्रचण्डको राजीनामा माग गर्नुभएकाे हाे ।

उहाँले पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्ने जनाउनुभएकाे छ ।

यस्तो छ शर्माको भनाइ;

१. जेन जी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति, संस्कृतिमाथि प्रहार गरेकाले त्यसको सकारात्मक संश्लेषण गर्नुपर्छ।

२. यसले दलतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पाटापक्ष उजागर गरेकाले अब देशलाई नयाँ ढंगले अगाडि बढाउने बाटो खोलेको छ।

३. वर्तमान सरकारलाई सहयोग गर्दै निर्वाचनमा जाने वातावरण बनाउनुपर्छ।

४. पार्टीभित्र सम्पत्ति छानबिनबारे विगतदेखि राखेको माग कार्यान्वयन गर्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोग गठन गर्नुपर्छ।

५. २०४६ पछि पदमा बसेका सबै क्षेत्रका निवृत्तहरूको सम्पत्ति छानबिन र जेन जी आन्दोलनमा जनधनको क्षतिबारे उच्चस्तरीय आयोग बनाउन अहिलेको सरकारसँग माग गर्नुपर्छ।

६. पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ।

७. नेतृत्व निर्वाचन प्रणाली प्रत्यक्ष निर्वाचितको मोडेलमा लैजानुपर्छ।

८. कुन पदमा कुन व्यक्ति कति पटक बस्ने भन्ने ठोस र स्पष्ट नीति बनाउनुपर्छ।

९. वर्तमान निर्वाचन प्रणाली अन्त्य गरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत संसद् निर्माण लागि राजनीतिक बहस प्रारम्भ गर्नुपर्छ।

१०. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरालाई जोडदार रूपमा उठाउनुपर्छ।

११. पार्टी भित्रका दलित महिलाका समस्याहरू समाधानका लागि स्पष्ट दृष्टिकोण निर्माण गर्नुपर्छ।

१२. सांस्कृतिक विचलन, यौन अराजकता जस्ता घटनाक्रमको छानबिन गर्नुपर्छ।

१३. शहीद, बेपत्ता परिवार र घाइते योद्धा तथा अशक्त र वृद्ध वृद्धाहरुको संरक्षणसम्बन्धी नीति तय गर्नुपर्छ।

१४. श्रम र आर्थिक उत्पादनसम्बन्धी पार्टीको नीति, योजना र कार्यक्रममार्फत् सबैलाई स्वरोजगार बनाउन अभियान सुरू गर्नुपर्छ।

१५. राष्ट्रियता गम्भीर संकटमा रहेकाले राष्ट्रियताको रक्षाका लागि सतर्कतापूर्वक पार्टीपंक्तिलाई सचेत राख्नुपर्छ।

१६. उपर्युक्त लक्ष्य पुरा गर्न सो अनुसारको संगठन बनाउनुपर्छ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १५:५७