२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

पार्टी कार्यालयमा आगजनी र तोडफोड भएपछि एमाले–कांग्रेस नुवाकोटद्धारा प्रशासनको ध्यानाकर्षण

३१ भदौ, काठमाडौँ । जेनजीको आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति र निजी भवनमा भएको आगजनी तथा तोडफोडका घटनाले सकारात्मक परिवर्तन ल्याउन सक्दैन भन्दै नेकपा एमाले र नेपाली कांग्रेस नुवाकोटका नेताहरुले प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलाई ध्यानाकर्षण गराएका छन्।

गत भदौ २४ गते भएको आन्दोलनका क्रममा एमाले नुवाकोटको पार्टी कार्यालय पूर्णरुपमा जलेर ध्वस्त भएको छ भने नेपाली कांग्रेस नुवाकोटको भवनमा समेत आगजनी र तोडफोड छ।

सोमबार कांग्रेस र एमालेका केन्द्रीय तथा जिल्ला तहका नेताहरुले क्षतिग्रस्त पार्टी कार्यालयको स्थलगत अवलोकन गरेपछि जिल्ला प्रशासन कार्यालय नुवाकोट पुगेर प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण  गराएका हुन् ।

प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलाई ध्यानाकर्षण गराउँदै एमाले केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पूर्वमन्त्री केशवराज पाण्डेले फिल्मी शैलीमा कार्यालयमा गरिएको आक्रमणले ठूलो भौतिक क्षति पुर्याएको बताउनुभयो। एमाले नुवाकोटका इन्चार्ज समेत रहनुभएका पाण्डेले दोषीलाई पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न माग समेत गर्नुभयो ।

त्यस्तै, एमाले नुवाकोट अध्यक्ष तथा प्रदेशका पूर्वराज्यमन्त्री बद्री मैनालीले सरकारी निकायकै सामुन्ने पार्टी कार्यालयमा आक्रमण हुनु दुःखद् भएको बताउनुभयो । उहाँले दोषी जोसुकै भए पनि पक्राउ गरी कारबाही गर्नुपर्नेमा जोड दिनुभयो।

यसैगरी नेपाली कांग्रेस नुवाकोटका उपसभापति राजु थापाले जेनजीको आन्दोलनमा अन्य तत्वहरु मिसिएर तोडफोड र आगजनी गरेको आरोप लगाउनुभयो । उहाँले भौतिक सम्पत्तिमाथि आक्रमण हुनु निन्दनीय रहेको टिप्पणी गर्दै दोषिमाथी कारबाहीको मागसमेत गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले आन्दोलनका क्रममा नुवाकोटमा पनि विभिन्न घटनाहरू भएको पुष्टि गर्दै यसको अनुसन्धान भइरहेको जानकारी दिनुभयो। उहाँले दोषीलाई कानुनअनुसार कारबाही गरिने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य विन्दा ढुंगाना, प्रदेश सदस्यहरु बलराम आचार्य, काशीराज अधिकारी, प्रल्हाद प्यकुरेल लगायतका नेताहरूले सार्वजनिक र निजी सम्पत्तिमा आगजनी तथा तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गर्नुभएको थियो ।

ध्यानाकर्षणअघि एमाले र कांग्रेसका नेता तथा कार्यकर्ताहरुले क्षतिग्रस्त पार्टी कार्यालयको स्थलगत अनुगमन गर्नुभएको थियो ।

 

 

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार ११:१२