२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन सहयोग गर्न नाडाको आग्रह

२९ भदाै, काठमाडाैं। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल(नाडा)ले अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न  सरकारलाई आह्वान गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै नाडाले यस्तो धारणा व्यक्त गरेको हो ।

‘नेपालको अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला हो । तर, हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेका छन्, कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति समेत चिन्ता बढेको छ । देशको वर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर र्पुयाएको छ र दीर्घकालीन रुपमा लगानी र रोजगारीमा पनि चुनौती थपिएको छ ।’ नाडाले जारी गरेकाे विज्ञप्तीमा भनिएकाे छ ।

नाडाले हालै देशभर भएको आन्दोलन र प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको भन्दै घटनाबाट प्रभावित परिवारप्रति गहिरो संवेदना व्यक्त गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै नाडाले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

शान्तिपूर्ण सम्वाद र सहमतिको बाटोबाट हरेक जटिल र कठीन समस्याहरुको समाधान खोज्न सकिन्छ भन्ने विश्वास व्यक्त गर्दै नाडाले सम्पूर्ण व्यवसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गर्दै आफ्नो सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास, र देशको समग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिवद्धता व्यक्त गरेको छ ।

नाडाले भनेको छ, ‘हामी विश्वास गर्दछौं कि एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र सकारात्मक सम्वादमार्फत मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्नेछ भन्ने विश्वास समेत लिएका छौ ।’

प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार १८:०९