व्यवसायीहरू उठ्नै नसक्ने अवस्थामा पुगे, राज्यले विचार गर्छः प्रधानमन्त्री
२९ भदौ, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई राज्यको तर्फबाट चाहिने सहयोग गर्ने बताउनुभएको छ । गत भदौ २४ गते सरकारी तथा निजी क्षेत्रमा भएको आगजनी र क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले अब अघि बढ्न निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने बताउनुभएको हो ।
आइतबार पदभार ग्रहणपछि सचिवहरुसँगको छलफलमा निजी क्षेत्रमा भएको क्षतिको आँकलन गरी सफ्टलोनदेखि अन्य सहयोग सरकारले गर्ने बताउनुभएको हो । उहाँले आतंक मचाएर व्यवसायहरू जलाएर खरानी बनाउने काम हुँदा पनि व्यवसायीहरूले देखाएको मनोबलको प्रशंसा समेत गर्नुभयो ।
‘व्यक्तिका घर, सम्पत्ति, सुरक्षा निकायदेखि सिंहदरबार, संसद, अदालत जलाउने काम भयो । व्यक्तिको सम्पत्तिदेखि उद्योगी व्यापारी, इन्टरप्रेनरको सम्पत्ति जलाउने काम भयो,’ प्रधानमन्त्री कार्कीले भन्नुभयाे,’ उनीहरुलाई हामीले जसरी उभिन्छौं, उभिउ भन्न मिल्दैन ।’
उहाँले भन्नुभयाे, ‘व्यक्तिको सम्पत्तिको क्षति भएर कतिपय व्यायापारी त अब उठ्नै नसक्ने अवस्थामा पुगे । त्यसैले त्यसमा पनि राज्यले विचार गर्छ । उनीहरुलाई कसरी उठाउने भन्नेमा हामी सोच्छौं, कुन सहयोग दिने भन्नेमा हामी सोच्छौं । बैंकको सफ्ट लोन दिने की अथवा केही अन्य सहयोग गरेर हुन्छ की हामी सहयोग गर्छौं । सानासाना व्यापारीहरु पनि लुटिएका छन् । आज मैले समाचार पनि पढेँ, धेरै ब्यापारीहरुले धेरै नोक्सानी भएको छ, हामी उठ्ने कोशिस गर्दैछौं भन्नुभएछ । हामी हार्दैनौं भन्नुभएको छ ।’
प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार १३:३१












