१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

घोषित लक्ष्यहरुबाट सरकार च्यूत भए प्रतिरोध हुन्छः रास्वपा

२८ भदाै, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई संविधान पालना, भ्रष्टाचारविरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधारका पक्षमा सक्रिय बन्न आग्रह गरेको छ।

शनिबार महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा रास्वपाले कठिन संक्रमणकालीन अवस्थामा मुलुकलाई पार लगाउने जिम्मेवारी प्रधानमन्त्रीले पाएको उल्लेख गर्दै भदौ २३ गते जेनजी पुस्ताले गरेको निर्णायक हस्तक्षेपकै आधारमा यो परिवर्तन सम्भव भएको बताएको छ। विज्ञप्तिमा यस प्रक्रियाले संविधान पालना सम्बन्धी प्रश्न पनि उब्जाएको जनाइएको छ।

रास्वपाले भदौ २६ गते सार्वजनिक गरेको प्रस्तावलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय सभाको स्थायी स्वरूप र गतिशीलता कायम राखी अन्तरिम सरकारले आगामी प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र गर्ने गरी ताजा मतादेशको अपरिहार्यता र आन्दोलनको म्यान्डेटबीच सन्तुलन राख्न रास्वपा उचित ठान्दछ।’

फागुन २१ मा तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिँदै रास्वपाले शान्तिपूर्ण सत्ता हस्तान्तरण, लोकतान्त्रिक हकअधिकारको निर्बाध उपभोग र विधि अनुसारको असल शासन सुनिश्चित गर्न सरकारप्रति अपेक्षा गरेको जनाएको छ। साथै चरम भ्रष्टाचार र दण्डहीनता विरुद्ध कडा कदम चाल्न, पुनर्निर्माण तथा आर्थिक सुधारमा प्राथमिकता दिन, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न र विकासमा गुणस्तरीय दूतत्व देखाउन पनि रास्वपाले अन्तरिम सरकारलाई आग्रह गरेको छ।

घोषित लक्ष्यहरूबाट सरकार च्युत भए प्रतिरोध गर्ने चेतावनी दिँदै समग्र राष्ट्रिय हित, एकता र सौहार्द प्रवर्द्धनमा सधैँ सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता विज्ञप्तिमा व्यक्त गरिएको छ।

प्रकाशित मिति : September 13, 2025 at 7:40 pm