आइतबारबाट विद्यालयहरू खुल्ने
२८ भदौ, काठमाडौँ । जेनजी आन्दोलनका कारण ठप्प बनेका देशभरका शैक्षिक संस्थाहरू आइतबारबाट खुल्ने भएका छन् । काठमाडौँ महानगरपालिकाले आइतबारबाट विद्यालय खोल्न र पर्सिबाट पठनपाठन सुचारु गर्न निर्देशन दिएको छ ।
काठमाडौँबाहिर कतिपय स्थानीय तहहरूले भने भोलिबाटै पठनपाठन सुचारु गर्न निर्देशन दिएका छन् । काठमाडौँको टोखा नगरपालिकाले पनि मातहतका विद्यालयहरूलाई भोलिबाटै पठनपाठन सुचारु गर्न भनेको छ ।
काठमाडौँ महानगरले मातहतका विद्यालयहरूलाई पठाएको सूचनामा भोलि शिक्षक कर्मचारीहरूलाई विद्यालयमा उपस्थित हुन तर विद्यार्थीलाई नबोलाउन भनिएको छ । शिक्षक कर्मचारीले विद्यालयको प्रशासनिक कार्यका साथै सरसफाइ सम्बद्ध कार्यहरू गर्न तथा कुनै प्रकारको क्षति देखिएमा महानगरमा विवरण उपलब्ध गराउन समेत निर्देशन दिइएको छ ।
विद्यार्थीहरूका अभिभावकसँग सम्पर्क गरी अवस्था सामान्य नहुन्जेल आफ्ना बालबालिकालाई विद्यालय ल्याउन र लैजाने कार्य आफैँ गर्न अनुरोध गर्ने निर्देशन पनि महानगरको छ । अभिभावकले आफ्नो बालबालिकाको ल्याउने र लैजाने गरी जिम्मा लिएमा र परिस्थिति सामान्य भएमा सोमबारदेखि विद्यालयमा ल्याई मनोसामाजिक परामर्शसँगै अध्ययन अध्यापन गराउन भनिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार १६:५०












