२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की, शुक्रबार नै सपथ हुने

२७ भदौ, काठमाडौँ । सडक प्रदर्शनको १८ घण्टाकै बीचमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सत्ता ढालेर देशका महत्वपूर्ण भौतिक सम्पत्ति खरानी पारेको जेन–जी समूहबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री (मन्त्रिपरिषद्को अध्यक्ष) बनाउने टुंगो लागेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेर सपथ गराउने सहमति भएको छ ।

राष्ट्रपति कार्यालयका तर्फबाट यसको आधाकारिक जानकारी प्रवाह नभए पनि राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका केही नेता मार्फत संविधानको संरक्षण गर्दै अन्तरिम सरकारको प्रमुखका रूपमा कार्कीलाई नियुक्ति दिने तयारी गरेको कुरा जानकारी गराउनु भएको छ । कार्कीका विषयमा सबै पक्ष सहमत भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

अन्तरिम सरकार गठनका लागि संवैधानिक प्रावधानका विषयमा राष्ट्रपति पौडेलले कार्कीसहित, प्रधानसेनापति अशोकराज सिग्देल र राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरसहित अन्य केही कानुन व्यवसायी राखेर मध्यरातसम्म छलफल गर्नुभएको छ ।

dainiki.com

राष्ट्रपति पौडेलले यो छलफल अघि कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग पनि परामर्श गर्नुभएको थियो ।

उहाँले त्यसअघि संवैधानिक कानुनका जानकारहरू डा चन्द्रकान्त ज्ञवाली, डा विपिन अधिकारी, डा भीमार्जुन आचार्य, पूर्णमान शाक्य, सूर्य ढुंगेल र ललित बस्नेत लगायतसँग पनि छलफल गर्नुभएको थियो ।

जेनजी समूहका तर्फबाट नयाँ सरकार गठन गर्ने विषयमा छलफलमा सहभागी काठमाडौँ महानगरपालिकाका कानुनी सल्लाहकार ओमप्रकाश अर्यालका अनुसार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने विषयमा सहमति भए पनि संसदको विघटनको विषयमा केही छलफल बाँकी नै छ त्यसका लागि शुक्रबार बिहान ९ बजेपछि पुनः बसेर टुंग्याउने कुरा भएको छ ।

नारायणहिटी दरबारलाई प्रधानमन्त्रीको कार्यालय बनाउने गरी सरसफाइ लगायतको काम भएको बुझिएको छ । कार्की नेतृत्वको सरकारले तीन काम एक साथ अघि बढाउने तयारी छ । नरसंहार र विध्वंसको छानविन, शिघ्र आम निर्वाचन र भ्रष्टाचारको छानविनमा केही विशेष निर्णय हुनेछ ।

राति राष्ट्रपति निवासमा निकास दिने विषयमा निरन्तर छलफल चलिरहँदा सामाजिक सञ्जलमा भने सैनिक ‘कु’ गरेर पूर्वराजा वा उहाँको नाती ह्रदयन्द्रलाई राजा बनाएर फर्काउन खोजिएको भन्दै हल्ला चल्यो । त्यही बीचमा एक अनलाइन मिडियामा समाचार जस्तै देखिने एक सामग्री प्रकाशित भएपछि सामाजिक सञ्जालमा भूकम्प नै सिर्जना भयो ।

काम चलाउ सरकार नेपाली सेनाको सुरक्षामा रहनुपरेका कारण अहिले सरकार शून्यताको अवस्था रहेको छ । ज्यानको सुरक्षा पहिलो शर्त भन्ने मान्यताले प्रधानमन्त्री र मन्त्रीहरू परिवारसहित सैनिक सुरक्षामै रहनुभएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार ०६:२९