२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

जेनजी पुस्ताले उठाएको मागमा समर्थन छ, संवैधानिक मार्गबाट समाधान निकाल्नुपर्छः शशांक कोइराला

२६ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका नेतातथा प्रतिनिधिसभा सदस्य डा. शशांक कोइरालाले ‘भ्रष्टाचार र बेथिति’ विरूद्ध जेनजी पुस्ताहरूले उठाएको आवाजलाई पूर्ण समर्थन जनाउनुभएको छ । विहिबार एक विज्ञप्ति जारी गर्दै कोइरालाले जनयुद्धकालीन घटनासँग सम्बन्धित मुद्दाहरू लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार समाधान हुनुपर्नेमा जोड दिएका छन्।

भदौ २३ र २४ गते भएको आन्दोलनक्रममा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कोइरालाले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ। साथै, आन्दोलनका क्रममा सुरक्षाकर्मीमाथि भएको आक्रमणको निन्दा गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ ।

उहाँले सरकार, सार्वजनिक सम्पत्ति, उद्योग, व्यवसाय र कलकारखानामा भएको तोडफोड, लुटपाट तथा व्यक्तिगत आक्रमण जस्ता घटनाप्रति गम्भीर आपत्ति जनाउनुभएको छ। आन्दोलनप्रति प्रतिबद्धता जनाउँदै कोइरालाले देशभित्र राजनीतिक सहमति, सहकार्य र एकता कायम गरी संवैधानिक मार्गबाट शान्तिपूर्ण समाधान निकाल्न आवश्यक भएको बताउनुभएको छ ।

उहाँले विगत ६५ वर्ष लामो राजनीतिक संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरूलाई सुरक्षित गर्दै संविधानसम्मत समाधान खोज्न सबैलाई आग्रह गर्नुभएको छ ।

 

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १८:३५