जेनजी आन्दोलनबाट जलेको सम्पत्तिको बीमा दाबी सहज बनाउन प्राधिकरणको निर्देशन
२६ भदौ, काठमाडौं । नेपाल बिमा प्राधिकरणले जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको दाबी भुक्तानीलाई सहज बनाउन आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले यस्तो आग्रह गरेको हो ।
प्राधिकरणले भदौ २३ गतेदेखि उत्पन्न असहज परिस्थितिका कारण बीमितको धन सम्पत्तिमा व्यापक क्षति भएको उल्लेख गर्दै त्यसको दाबी प्रक्रियामा ढिलाइ नगर्न निर्देशन दिएको हो ।
प्राधिकरणको सूचनामा भनिएको छ,‘उक्त परिस्थितिको कारण बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै सोबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फछ्यौट गर्न अनुरोध गरिन्छ ।’
साथै, उल्लेखित परिस्थितिका कारणले भएको क्षतिको बिमा दाबी विवरण साप्ताहिक रुपमा (प्रत्येक हप्ताको बुधबार) पेस गर्न समेत प्राधिकरणले आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १७:१७












