२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

आन्दोलनकारी पक्राउ गर्न नरोकिए देश गृहयुद्धतर्फः दुर्गा प्रसाई

२६ भदौ, काठमाडौँ । राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईले काठमाडौँमा जेनजीको नाममा भएको प्रदर्शनमा सहभागी भएका आन्दोलनकारीलाई पक्राउ गरिए देश गृहयुद्धमा जाने चेतावनी दिनुभएको छ ।

नेपाली सेनाको नेतृत्वमा परिचालित सुरक्षा फौजले आन्दोलनका नाममा भएको लुटपाट र तोडफोडमा संलग्नहरू पक्राउ गर्न थालेपछि प्रसाईले आन्दोलनकारीलाई नचलाउन चेतावनी दिनुभएको हो । यसले प्रदर्शनका नाममा लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरू प्रसाई कार्यकर्ता रहेको शंका गर्नेहरूका लागि बल पुगेको छ । नेपाली सेनाको मुख्यालय छिर्नुअघि बिहीबार उहाँले फेसबुक मार्फत दिनुभएको चेतावनी यस्तो छ ।

जनयुद्धको नाममा १७,५०० नेपालीको ज्यान लिइयो, खरबौंको सम्पत्ति बम–बारुदले ध्वस्त पारियो र ५० हजारभन्दा बढी नागरिक घाइते पारिँदा मुलुकलाई ५० वर्ष पछि धकेलियो। आज फेरि त्यही इतिहास दोहोरिएको छ — यसपटक जेन-जी आन्दोलनलाई दमन गर्न राज्यले बर्बर शक्ति प्रयोग गर्दै सयौँ निर्दोष बालबालिकाको ज्यान लिएको छ, हजारौँलाई घाइते र अंगभंग बनाएको छ, र ५० खर्बभन्दा बढी मूल्य बराबरको राज्य सम्पत्ति ध्वस्त हुन पुगेको छ। मुलुक पुनः आधा शताब्दी पछि धकेलिएको छ।

त्यतिबेला माओवादीहरूले युद्धको नाममा ‘वर्गदुश्मन’ ठहरिएका शक्तिहरूसँगै मिलेर सारा औचित्य समाप्त पारेका थिए। आज फेरि त्यस्तै खतरा मडारिएको छ — जेन-जी आन्दोलनको मूल भावना राष्ट्रपतिको खोपिमा सुम्पिने प्रयास हुँदैछ।

यो आन्दोलन केवल जेन-जीको मात्र होइन, सम्पूर्ण नेपालीहरूको हो। आज जेन-जी युवाहरूलाई लक्षित गरेर दमन गर्ने, गिरफ्तार गर्ने, र डर देखाउने काम भइरहेछ। उनीहरूबीच मतभेद बढ्दै गइरहेको छ, नेतृत्वको सही पहिचान हुन सकेको छैन, र कोही अघि बढ्न हिच्किचाइरहेका छन्। यसकै नतिजा फेरि उही दलाल, भ्रष्ट र देशद्रोहीहरूले टाउको उठाउने अवसर पाउनेछन।

त्यसैले यो आन्दोलनलाई सार्थक बनाउन समयमै गम्भीर निर्णय लिन आवश्यक छ। नेपाली सेनाले चनाखो भएर नागरिकको जीवन र सम्पत्ति रक्षा गर्नुपर्ने बेलाअहिले हो। जेन-जीहरूलाई लक्षित गरेर गरिएका धडपकड र गिरफ्तारी तत्काल रोक्नुपर्छ, अन्यथा मुलुक अझ भयावह गृहयुद्धतर्फ धकेलिने निश्चित प्रायः भइसकेको छ।

dainiki.com

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १५:१४