५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

नौवस्ता कारागारबाट भागेका सात कैदीबन्दी पक्राउ

२६ भदौ, नेपालगन्ज । बाँकेको नौवस्ता कारागारबाट भागेका सात कैदीबन्दीलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको छ । उनीहरुमध्ये एक जनाले इलाका प्रहरी कार्यालय, कोहलपुरमा आत्मसर्मपण गरेका छन् भने अन्य छ जनालाई जिल्ला प्रहरी कार्यालय, बाँकेले पक्राउ गरेको कारागारका जेलर जालन्धर भुसालले जानकारी दिनुभयो ।

“प्रहरी कार्यालयमा रहेकालाई पनि आजै कारागारमा ल्याउने तयारी भएको छ,” उहाँले भन्नुभयो । दुई दिनअघि मात्रै कारागारबाट १४७ कैदीबन्दी फरार भएका थिए । कारागारमा ५८५ कैदीबन्दी थिए ।

जेलर भुसालले फरार भएका कैदीबन्दीको खोजी भइरहेको बताउनुभयो । दुई दिनअघि नौवस्तास्थित बालसुधारगृहमा झडप हुँदा पाँच जनाको मृत्यु समेत भएको थियो । सो घटनामा अन्य सात जना घाइते भएका थिए ।

जिल्लाको नौवस्ता कारागारको बालसुधार गृहबाट ७६ र डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधार गृहबाट १२२ बालबन्दी भागेका थिए । जयन्दु बालसुधार गृहमा २२८ जना बालबन्दी थिए ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार ११:४८