२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

संविधानभित्रबाट समाधान खोज्नुपर्छः वरिष्ठ नेता गौतम

२५ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशमा उत्पन्न राजनीतिक समस्याको समाधान गर्न संविधानलाई नै मार्गदर्शकका रूपमा लिनुपर्ने बताउनुभएको छ ।

उहाँले आज एक सन्देश जारी गर्दै राज्यका सबै संरचना अस्तव्यस्त भएको अहिलेको अवस्थामा संविधानभन्दा बाहिरबाट खोजिने समाधान दीर्घकालीन हुन नसक्ने उल्लेख गर्नुभयो ।

राजनीतिक पार्टी अहिले उपरोक्त राज्यशक्तिभन्दा पछाडि परेको जटिल अवस्थाबाट देशलाई आवश्यक दिशानिर्देश गर्ने मुख्यतः नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र निजामती कर्मचारीको जिम्मेवारी भएको उल्लेख गर्दै नेता गौतमले नेपाली भूमिको रक्षा, जनताको रक्षा, आफ्नो सार्वभौमिकताको रक्षाका निम्ति आग्रह गर्नुभयो ।

मुलुकको राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता तथा सामाजिक सद्भाव कायम गर्न सबै संवेदनशील हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “जब राज्य कमजोर हुन्छ सबै आधार कमजोर हुन्छन्, त्यस्तो अवस्थामा कि राज्य टुक्रिन्छ कि देश विदेशीको कब्जामा जान्छ ।”

नेता गौतमले जनताको आर्थिक विकास तथा समृद्धिको चाहना तथा ऐतिहासिक जिम्मेवारी पूरा गर्न सम्बन्धित निकायले ढिलासुस्ती गर्न नहुने बताउनुभएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार १६:३१