२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

ओली बालुवाटारबाट भागेपछि एमालेजनको सहारा बन्यो नेत्रलाल अभागीको कविता

२५ भदौ, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्म ओली सरकारी निवासबाट नेपाली सेनाको हेलिकप्टर चढेर भागेपछि एमालेका नेता र कार्यकर्ताले सहीद नेत्रलाल पौडेल अभागीको कविताको सहारा लिएका छन । ओलीले वालुवाटार नछाड्दै पोलिटब्यूरो सदस्य एवं सांसद सूर्य थापाले सामाजिक सञ्जालबाट सार्वजनिक गरको कविता आज सयौँ एमालेको जनको फेसबुकमा प्रदर्शनीमा रहेको छ ।

सोमबारको प्रदर्शनमा सुरक्षा निकायले बलप्रयोग गरेर २० जनाको ज्यान गएपछि प्रधानमन्त्रीको चर्को आलोचना भएर राजीनामा माग्न थालेपछि पहिलो पटक प्रधानमन्त्रीको पक्षमा दृढ छु भन्ने सन्देश दिनेगरी कविता सेयर गर्नुभएको थियो । सोही कविता ओली हेलिकप्टर चढेर बालुवाटारबाट भागेपछि बुधबार बिहानबाट भाइरल हुन थालेको हो ।

पोलिटब्यूरो सदस्य एवं सांसद सूर्य थापाले सामाजिक सञ्जालबाट सार्वजनिक गरको कवि नेत्रलाल अभागीको कविता ।

 

मंगलबार प्रदर्शन हिंसात्मक बनेर नेताको घर र महत्वपूर्ण सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी पुगेपछि सबैजना शान्त थिए । बुधबार बिहानै पोखरेलले थापाले मंगलबार बिहानै धैर्य गरौ, संयमित बनौ, हामी फेरी उठ्ने छौ भनेर राखेपछि यो समाचार तयार पार्दासम्म ६४७ जनाले उहाँको फेसबुकबाटै सेयर गरेका छन भने ११ हजार २ सयले प्रतिक्रिया जनाएका छन । १४ हजार जनाले रियाक्ट गरेका छन ।

एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालबाट सार्वजनिक गरको कवि नेत्रलाल अभागीको कविता ।

उक्त कविता एमालेका अन्य सयौ कार्यर्ताले पनि सेयर गरेका छन । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री नै भागेर शोकमा परेको एमालेका लागि सहिद अभागीको कविता गतिलो साथी बनेको छ ।

यस्तो छ कविता

आँधी र हुरी नचलेको बेला
वातावरण स्तब्ध र शान्त भएको घडीमा
एउटा नर्कट पनि
छाती खोलेर ठिङ्ग उभिन सक्छ
एउटा कायरले पनि
बहादुरीका लामालामा कुरा गर्न सक्छ
तर मेरा मित्र
आँधी र हुरी चलिरहेको बेलामा
वातावरण गतिशील र अशान्त भएको घडीमा
पहाडको चुचुरोमाथि
आँधी र हुरीसँग पौठेजोरी खेल्दै
एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ ।
– नेत्रलाल अभागी

धैर्य गरौ,
संयमित बनौ,
हामी फेरी उठ्ने छौ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार १७:१०