आगजनी, तोडफोड र हिंसाका घटनाप्रति निन्दा र भर्त्सना नगरी रहन सकिन्नः ईश्वर पोखरेल
२५ भदौ, काठमाडौँ । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विगतबाट शिक्षा लिँदै प्रतिकूल परिस्थितिलाई अनुकूल बनाउने दिशामा हामी सबै अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । बुधबार बिहान फेसबुक मार्फत उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

यस्तो छ पोखरेलको अनुरोध
हार्दिक अनुरोध
——————-
जेन जी पुस्ताका युवाहरूको आह्वानमा भएको भ्रष्टाचार नियन्त्रण तथा सामाजिक सन्जालमाथिको प्रतिवन्ध हट्नुपर्ने लगायतका विषयमा केन्द्रीत आन्दोलन र देशमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति सबैको ध्यान गम्भीर रूपमा आकर्षित भएको छ । आन्दोलनका क्रमा भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्घान्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु । घाइतेहरूको उपचारमा सरकारले हालै गरेको निर्णयको प्रभावकारी कार्यान्वयन होस् भन्ने माग पनि गर्दछु ।
आन्दोलनमा भएको अस्वभाविक र अत्यधिक बल प्रयोग र त्यसकाणले भएको जनधनको ठूलो क्षति , सार्वजनिक सम्पत्ति, ऐतिहासिक सम्पदा , राजनीतिक दलका कार्यालय र विभिन्न व्यक्तिका निजी निवास तथा निजी सम्पत्तिमा गरिएको आगजानी, तोडफोड र हिंसाका घटनाप्रति निन्दा र भर्त्सना नगरी रहन सकिन्न । यी घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानविन गरी दोषीमाथि कडा कानूनी कारवाही गरिनुपर्छ । साथै, भविष्यमा यस्ता दु:खद वघटना नदोहोरिने वातावरण सुनिश्चित गर्नु हामी सबैको कर्तव्य हो ।
यस विषम परिस्थितिमा धैर्य र संयमता अपनाउन , समाजमा शान्ति, अमनचयन र सामाजिक वसद्भावका लागि सबैको पहल/प्रयत्न आवश्यक छ । जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक पद्धति, बहुलवादी मूल्य मान्यता , सामाजिक न्याय, विधिको शासन र रूपान्तरणकारी आन्दोलनप्रति अविचलित रहन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक , शुभेच्छुक तथा आम जनतामा हार्दिक आह्वान गर्दछु । विगतबाट शिक्षा लिदै प्रतिकूल परिस्थितिलाई अनुकूल बनाउने दिशामा हामी सबै अघि बढ्नु अहिलेको आवश्यकता हो !
प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार १२:११








