नेपाली सेनाले बरामद गर्यो जेनजी आन्दोलनका नाममा लुटिएको ३३ लाख ७० हजार
२५ भदौ, काठमाडौँ । नेपाली सेनाले मंगलबारको हिंसात्मक प्रदर्शनका क्रममा विभिन्न स्थानबाट लुटिएको रकमहरू मध्ये ३३ लाख ७० हजार रूपैयाँ बरामद भएको छ ।
नेपाली सेनाले बुधबार बिहान सुरक्षा अपडेट दिँदै यसको जानकारी दिएको हो । मंगलबार हिंसात्मक प्रदर्शनमा सहभागी समूहका युवाहरूले बानेश्वरको राष्ट्रिय बाणिज्य बैंक लुटेका थिए ।
सुरक्षा अपडेट
मिति २०८२ भाद्र २४ गते रातको १० बजेबाट देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु परिचालन भएपश्चात आज मिति २०८२ भाद्र २५ गतेको विहान १० बजेसम्म काठमाडौँ लगायत देशका विभिन्न स्थानहरुमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ । साथै, ३ वटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भईरहेको छ । त्यसैगरी काठमाडौँको गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट रु. ३३,७०,०००।०० बरामद गरिएको छ । काठमाडौँको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको छ । साथै, २३ जना घाईते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार गरिएको छ ।
प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार ११:३४












