२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

कांग्रेसका महामन्त्रीद्वयको विज्ञप्तिः ७ बुँदेको औचित्य सकियो, प्रधानमन्त्रीले तत्काल मार्ग प्रसस्त गर्नुस्

२४ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिएर मार्ग प्रसस्त गर्न आग्रह गरेका छन्। उनीहरूले एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमतिको औचित्य पनि अब समाप्त भएको बताएका छन्।

मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै दुवै नेताले सरकारमा सहभागी पार्टीका मन्त्रीहरूलाई समेत राजीनामा दिन सुझाव दिएका छन्।

“सरकार सहि ढंगले चल्न सकेन, सुधार होस् भनेर पार्टी बैठक, संसद् र सार्वजनिक स्थलमा पटक–पटक आग्रह गर्‍यौं। तर न सरकार सुध्रियो, न प्रधानमन्त्रीको शैलीमा परिवर्तन आयो। अन्ततः प्रधानमन्त्रीकै व्यवहारका कारण नागरिकमा असन्तुष्टि बढ्दै गयो,” विज्ञप्तिमा भनिएको छ।

सामाजिक सञ्जाल खोल्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने जस्ता न्यायोचित माग बोकेर सडकमा उत्रिएका जेन–जी पुस्तामाथि भएको दमनलाई निन्दनीय बताउँदै उनीहरूले थपे, “युवाहरूले कुनै पद वा कुर्सी मागेका थिएनन्, तर सरकारको अकर्मण्यताले होनहार युवाले ज्यान गुमाउनुपर्‍यो।”

महामन्त्रीद्वयले सात बुँदे सहमतिको औचित्य सकिएको भन्दै सरकारमा कांग्रेसका मन्त्रीहरूलाई फिर्ता बोलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। “सभापतिज्यूले तत्काल निर्णय गर्नुपर्छ, अन्यथा अन्य प्रक्रियाबाट कदम चाल्न हामी बाध्य हुनेछौं,” विज्ञप्तिमा भनिएको छ।

थापा र शर्माले प्रधानमन्त्री ओलीले पदत्याग गर्नु अपरिहार्य भएको पनि बताएका छन्। साथै, जेन–जी आन्दोलनरत युवाहरूसमेतलाई संयमित रहन अपिल गरेका छन्।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १३:२५