रास्वपाद्वारा प्रधानमन्त्रीको राजीनामा र ‘अर्ली इलेक्सन’ को माग
२३ भदाै, काठमाडाैँ । देशभर भएका जेन–जी पुस्ताको आन्दोलनमाथि भएको सरकारी दमनप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कडा आपत्ति जनाएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै रास्वपाले निहत्था नवयुवामाथि गरिएको गोली प्रहारलाई “आमहत्याको संज्ञा” दिँदै त्यसको भर्त्सना गरेको हो । पार्टीले भनिएको छ, “शान्तिपूर्ण आन्दोलनलाई सरकार आफैंले आमहत्यामा परिणत गरेको छ । आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने प्रयास अब जनताले सहने छैनन् ।”
रास्वपाले घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गर्दै गृहमन्त्रीसहित सबै दोषीमाथि कडा कारबाहीको माग गरेको छ । साथै, घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ ।
वर्तमान सरकार अब पूर्णतः औचित्यविहीन भइसकेको दाबी गर्दै रास्वपाले प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन चेतावनी दिएको छ । पार्टीको भनाइ छ, “नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्वमा रहेको संघीय संसद कुनै पनि राष्ट्रिय मुद्दाको समाधान दिन असमर्थ भइसकेको छ, त्यसैले ताजा जनादेश (अर्ली इलेक्सन) अपरिहार्य छ ।”
पार्टी सचिवालय बैठक जारी रहेको रास्वपाले जनाएको छ।
प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १८:४१








