नेप्सेले निकाल्यो सूचीकृत कम्पनीले बुझाउनुपर्ने सूचनाको विवरण
२२ भदाै, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुसँग विभिन्न जानकारी तथा सूचना माग गरेको छ । आइतबार एक सूचना जारी गर्दै नेप्सेले धितोपत्र सूचीकरण विनियमावलीअनुसार सूचीकरण सम्झौतामा उल्लेखित शर्त बमोजिम विभिन्न जानकारी तथा प्रतिवेदन माग गरेको हाे ।
नेप्सेले लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ५ महिना भित्र बुझाउन भनेको छ । प्रति सेयर आम्दानी, मूल्य आय अनुपात, प्रति सेयर खुद सम्पत्तिको मूल्य प्रति सेयर कुल सम्पत्तिको मूल्य, तरलता अनुपात सम्बन्धी विवरण सहितको त्रैमासिक प्रतिवेदन पनि त्रैमासिक समाप्त भएको तीन दिनभित्र बुझाउनुपर्ने नेप्सेले जारी गरेकाे सूचनामा उल्लेख गरेको छ ।
नेप्सेले दाखिला हुनु भन्दा कम्तिमा सात दिन अगाडि धितोपत्रको दाखिल खारेज बन्द हुने सम्बन्धी सूचनाको जानकारी नेप्सेलाई दिनुपर्ने भनेको छ भने धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि दिनुपर्ने भनेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार १७:०७













