१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

एउटै लगानीकर्ताले कम्पनीको ५ प्रतिशतभन्दा धेरै सेयर किनेमा नेप्सेमा जानकारी गराउनुपर्ने

२२ भदौ, काठमाडौं । एउटै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डमा सूचीकृत कम्पनीको ५ प्रतिशत वा सोभन्दा धेरैको सेयर खरिदको जानकारी नेपाल स्टक एक्स्चेन्ज(नेप्से)लाई गराउनुपर्ने भएको छ। नेप्सेले सूचीकृत कम्पनीहरूको लागि एक सूचना जारी गर्दै वित्तीय विवरणसँगै लगानीको सम्पूर्ण विवरण नेप्सेमा दिनुपर्ने व्यवस्था गरेको हो।

“धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ तथा धितोपत्र सूचीकरण सम्झौतामा उल्लिखित सर्त बमोजिम देहायका सूचना तथा जानकारीहरू तोकिएको ढाँचा र समयमा तोकिएको माध्यम (नट्स लगइन) बाट नेपाल स्टक एक्सचेन्ज ली.(नेप्से) मा उपलब्ध गराउन हुन सम्पूर्ण सूचीकृत सङ्गठित संस्थाहरूको लागि यो सूचना जारी गरिएको छ” सूचनामा भनिएको छ।

नेप्सेका अनुसार सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तुरुन्त दिनुपर्नेछ । नगद लाभांश, बोनस शेयर, हकप्रद शेयर वा थप शेयर निष्कासन सम्बन्धी निर्णय भएमा सो निर्णय हुने बित्तिकै सञ्चालक समितिको बैठक बसेको समय समेत उल्लेख गरी उपलब्ध गराउनुपर्नेछ। लाभांश दिन लागिएको सम्बन्धित सूचना भएमा आर्थिक वर्ष तथा दाखिल खारेज बन्द मिति, अनुपात तथा शेयर कित्ता वा रकम समेत खुलाउनुपर्नेछ।

त्यस्तै, धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा । सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि (१०ः३० बजे भन्दा अगावै) त्यस्तो सूचना, जानकारी तथा निर्णय सम्बन्धित सूचीकृत संगठित संस्थाको वेभसाइट मार्फत समेत सार्वजनिक गराउन निर्देशन दिएको छ।

यसैगरी लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदन आ.व.समाप्त भएको ५ महिना भित्र बुझाउनुपर्नेछ । प्रति शेयर आम्दानी, मूल्य आय अनुपात, प्रति शेयर खुद सम्पत्तिको मूल्य, प्रति शेयर कुल सम्पत्तिको मूल्य, तरलता अनुपात सम्बन्धी विवरण सहितको त्रैमासिक प्रतिवेदन त्रैमास समाप्त भएको ३० दिन भित्र दिनुपर्नेछ।धितोपत्रको दाखिल खारेज वन्द हुने सम्बन्धी सूचना दाखिल खारेज हुनु भन्दा कम्तिमा ७ दिन अगाडि दिनुपर्ने  सूचनामा भनिएको छ।

त्यस्तै, १० करोड वा सोभन्दा माथिको सम्पत्ति खरिद वा बिक्री सम्बन्धी निर्णय भएका सोको जानकारी दिनुपर्ने, सञ्चालक समिति, लेखा परीक्षण समिति, प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव, लेखा विभाग प्रमुख, लेखा परीक्षकमा हेरफेर भएमा सोको जानकारी तुरुन्त दिनुपर्नेछ । यस्तै, १० करोड रुपैयाँ वा सो भन्दा माथिको दायित्व वहन गर्नुपर्ने संभावना भएको मुद्दा अदालतमा दायर भएमा सोको विवरण जानकारी गराउनुपर्नेछ।

सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तुरुन्त दिनुपर्नेछ । नगद लाभांश, बोनस शेयर, हकप्रद शेयर वा थप शेयर निष्कासन सम्बन्धी निर्णय भएमा सो निर्णय हुने बित्तिकै सञ्चालक समितिको बैठक बसेको समय समेत उल्लेख गरी उपलब्ध गराउनुपर्नेछ। लाभांश दिन लागिएको सम्बन्धित सूचना भएमा आर्थिक वर्ष तथा दाखिल खारेज बन्द मिति, अनुपात तथा शेयर कित्ता वा रकम समेत खुलाउनुपर्ने  सूचनामा भनिएको छ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार १६:३१