राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटद्वारा रक्तदान, ३२ जनाले दिए रगत
२१ भदौ, काठमाडौं । राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटको आयोजनामा काठमाडौं महानगरपालिका–१६ बालाजुमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३२ जनाले रगत दान गरेका छन् ।
कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष उदय बहादुर रानामगरले गर्नुभएको थियो भने प्रमुख अतिथि समाजका संस्थापक अध्यक्ष डा. केदार नर्सिङ केसी रहनुभएको थियो । कार्यक्रममा निरन्तर १८३ पटक रक्तदान गरेका प्रेमसागर कर्माचार्यलाई सम्मान गरिएको सहसचिव विनोद न्यौपानेले जानकारी दिनुभयो ।
सहसचिव न्याैपानेका अनुसार “रगत अभावका कारण कसैले ज्यान गुमाउन नपरोस्” भन्ने उद्देश्यले रक्तदान गरिएको हो । कार्यक्रममा समाजका सदस्यसहित विभिन्न महानुभावहरूको सक्रिय सहभागिता थियो । रक्तदाताहरुलाई प्रमुख अतिथि डा केसीसँगै समाजका सल्लाहकार जंगबहादुर अर्यालसहितले प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।


प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार २१:४२








