एमालेमा फरक मतमा प्रतिबन्ध, कर्ण थापाले ३० मिनेट उभिँदा पनि बोल्न पाएनन्
२१ भदौ, काठमाडौँ । नेकपा (एमाले)भित्रको लोकतन्त्र करिब समाप्त भएको छ । पार्टीको नीति र बिधिका बारेमा छलफल गर्ने सबैभन्दा ठूलो निकाय विधान महाधिवेशनमै फरक मतमा प्रतिबन्ध लागेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत राख्न प्रतिबन्ध लगाउनुभएको हो ।
ललितपुरको गोदाबरीमा जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष ओलीले कार्यसूचीमा राखिएको थापाको फरक मत समेत प्रस्तुत गर्न रोक्नु भएको हो । आफ्नो फरक मत राख्न पाउनका लागि भनेर करिब ३० मिनेट उभिएका थापाले विधान महाधिवेशनको हलमा बोल्न समेत पाएनन् ।

थापाले विधान महाधिवेशनका लागि ३२ पेज लामो फरक मत प्रस्तुत गर्ने कार्यतालिका तय भएको थियो । तर, ओलीले थापाको फरक मत प्रस्तुत गर्न दिनुभएन । एमाले आन्तरिक लोकतन्त्र संकटमा परेको भन्दै अन्तरसंघर्षमा रहनुभएको थापाले पूर्व राष्ट्रपति एवं पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यमा ओलीले गरेको ‘कु’ माथि फरक मत राख्न खोज्नुभएको थियो ।
थापाले विधिवत रूपमै १९ भदौमा पार्टी कार्यालयमा पुगेर फरक मत दर्ता गर्नुभएको थियो । एमालेको आन्तरिक लोकतन्त्र, संगठनात्मक प्रणालीमा आएको समस्या र विद्यादेवी भण्डारीको सदस्यताको निरन्तरताको पक्षमा गरी तीनवटा विषय मुल रूपमा उठाउनु भएको थियो । पार्टीको विधान कुल्चिदै विधान महाधिवेशनमा होमिएको एमालेले महाधिवेशनमा पनि लोकतन्त्रिक अभ्यासमा निरन्तर प्रहार गरिरहेको छ ।
प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार १३:१०








