२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

लाभांश प्रस्ताव पारित गर्न माछापुच्छ्रे बैंकले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

२० भदौ, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले असोज १० गते, होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा २७ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ अर्ब रुपैयाँबराबरको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिले गरेको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनका लागि बैंकले भदौ २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ भदौ २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै बैंकको सभामा सहभागी हुन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार ०९:२१