२७ पुष २०८२, आईतवार | Mon Jan 12 2026

होटल व्यवसायलाई सहज ढङ्गले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह

१९ भदौ, काठमाडौँ । जिल्ला होटल व्यवसायी सङ्घले काठमाडौँभित्र सञ्चालनमा रहेका होटललाई सहज ढङ्गले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेको छ ।

सङ्घले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई भेटेर होटल सहज ढङ्गले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् । सङ्घका अध्यक्ष सुरेश बरालले होटल व्यवसाय रातको १२ बजेसम्म सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।

ठमेल र दरबारमार्गका होटललाई २४सै घण्टा सञ्चालन गर्न दिने वातावरण निर्माण भएको बेलामा नयाँबसपार्क, सुन्धारा, गौशाला, बागबजार, कलंकीलगायतका होटल पनि रातको १२ बजेसम्म सञ्चालन हुने वातावरण बनाईदिन सङ्घले प्रमुख जिल्ला अधिकारीसमक्ष अनुरोध गरेको छ ।

भेटमा प्रजिअ रिजालले व्यवसायीहरूले उठाएका माग र समस्याबारे सम्बद्ध निकायसँग छलफल गरी समाधान खोज्ने बताउनुभयो । उहाँले होटल व्यवसायलाई व्यवस्थित र सुरक्षासहित सञ्चालन गर्न प्रशासन सधैं सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार १७:४०