१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

अष्ट्रेलियामा एक नेपाली युवालाई आठ महिना जेल सजाय

१० माघ, अष्ट्रेलिया । अष्ट्रेलियाको एक अदालतले बुढाबुढीको स्याहार केन्द्रमा काम गर्दा बिरामीलाई दुर्व्यवहार गरेकाे आरोपमा एक नेपाली युवालाई ८ महिनाको जेल सजाय सुनाएको छ । ती नेपाली युवा ४ महिनादेखि जेलमै छन् ।

चार महिना अघि नेपाली युवा प्रकाश पौडेलले नियमित स्याहारको क्रममा डिमेन्सियाका रोगी एक वृद्धलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएसँगै उनलाई प्रहरीले पक्राउ गरेकाे थियो । सिड्नीको म्यनली अदालतले पौडेलको क्षमा याचनालाई अस्वीकार गर्दै जेल सजायको फैसला सुनाएको हो । अब उनले बाँकी चार महिना जेल बसेपछि क्षमाका लागि आवेदन दिन सक्नेछन् ।

चारमहिना अघि एजकेयरमा आफ्नो बाबुमाथि अमानवीय व्यवहार हुने गरेको प्रमाण पीडितकी छोरीले दिएकी थिइन् । उनले लुकाएर राखेको क्यामाराबाट खिचेको भिडियो सार्वजनिक गरिदिएकी थिइन् । पौडेलले मानसिक समस्या भएका ८२ वर्षीय वृद्धकाे लुगा तानेर लछापछार गरेको, चप्पलले हिर्काएको र अमानवीय तरिकाले खाना खुवाएको भिडियो सार्वजनिक भएको थियो ।

अष्ट्रेलियामा अधिकांश नेपालीले ‘एजकेयर’मा काम गर्छन् । प्रकाशले ८२ वर्षीय बृद्धलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि यहाँको सरकारले ‘एजकेयर’ क्षेत्रलाई व्यवस्थित गर्न रोयल कमिसन गठन गरेको छ । सरकारले अष्ट्रेलियाको ‘एजकेयर’ क्षेत्रलाई उच्चस्तरको सेवा पाउने क्षेत्रको रुपमा व्यवस्थित गर्न लागेकाे छ ।

पारिवारिक भन्दा पनि व्यक्तिगत जीवन बाँचिने अष्ट्रेलियामा बुढाबुढी भएपछि मान्छेहरु पैसा तिरेर नर्सिङ होममा बस्छन् । उमेर पाक्दै गएर हात खुट्टा नचल्ने भएपछि “केयरगिभर’ अर्थात् हेरचाह गर्ने मान्छेले त्यस्ता वृद्धवृद्धालाई औषधि, खाना र सरसफाइ गराउँछन् ।

प्रकाशित मिति : १० माघ २०७५, बिहीबार ११:४०