२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

प्रधानमन्त्रीको सचिवालयमा सबै “आलु” छैनन्

१६ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर (फोटो) विवादमा सामाजिक सञ्जाल तातेको छ । धेरैले हेनान नेपाल भन्या के भन्दै प्रश्न गरिरहेका छन । अझ कतिपयले त प्रधानमन्त्रीकै सचिवालयले उक्त तस्बिर पठाएकाले उसले स्पष्ट पार्नुपर्ने बताएका छन ।

शायद धेरैको नकारात्मक टिप्पणी देखेपछि होला प्रधानमन्त्रीको मुख्य सल्लाहकार विष्णु रिमालले घुमाउरो ढंगले प्रधानमन्त्रीको सचिवालयमा सबै “आलु” छन् भन्ने हिसाबमा नहेर्न चेतावनी समेत दिनुभएको छ । उहाँले चीन भ्रमणमा रहनुभएको प्रधानमन्त्रीको तस्बिरका सम्बन्धमा प्रष्ट पार्दै व्यंग्यात्मक रूपमा भन्नुभएको छ,  ‘मानौँ प्रधानमन्त्रीको सचिवालयमा सबै “आलु” छन् !!!’

यस्तो छ प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालको टिप्पणी

尼泊尔
Непал
Nepal
विद्वानका कुरा बुझ्न पनि गाह्रो, विद्वानलाई बुझाउन पनि गाह्रो ।
यो मेरो व्यवहारिक अनुभव हो ।
कुनै समय मेरा साथीहरू इञ्जिनियरिङमा उच्च शिक्षाका लागि तत्कालीन सोभियत संघ गए । को, कुन सहरमा पुगे भन्ने हाम्रो बीच खुबै लेखाजोखा हुन्थ्यो ।
एक जना साथीले ब्रोकन इङ्ग्लिसमा लेख्यो–
I am in Москва; नेपालीमा अर्थ्यायो– म मास्कोमा छु !
काठमाडौं खाल्डोमा बसेका मेरा अरु सहपाठीहरूले उडाए– “मुला, मोक्बामा बसेर मस्कोको धाक लगाउँछ !” उसले रसियन क्यारेक्टरमा लेखेको मास्को (Москва) यहाँका मेरा सहपाठीलाई “मोक्बा” भयो । के लाग्छ ?
तलको तस्बिरमा हाम्रा सम्माननीय प्रधानमन्त्रीको अगाडि एउटा नेम–प्लेट छ, जसमा लेखिएको छ––
尼泊尔
Непал
Nepal
आज, ४३ वर्षअघि मेरो सहपाठीलाई सम्झाउने गरी एक जना विद्वानले लेख्नुभयो–– “हैन, यो हेनान (Непал) कहाँ पर्दो रहेछ ? चीन र नेपालबीच हेनान किन आयो ?”
विद्वान हुन्, उनको इण्टेन्सन अन्दाज गर्न सकिन्छ–– चिनियाँहरूले लापरबाही गरेर वा हेपेर केपी ओलीको अगाडिको प्लेट गलत राखिदिए !
अब भयो ?!
एससिओ प्लस शिखर सम्मेलनका सबै सहभागी देशहरूको नाम तीन भाषामा लेखिएको छ–– चिनियाँ, रसियन र अङ्ग्रेजी । विद्वानले पढेको– “Непал”; हेनान होइन, रुसी भाषामा लेखिएको नेपाल हो भनेर अब कसरी बुझाउने ?
अझ साथी त चम्किचम्कि लेखिरहेका छन्–– “हेर्नु है, अरु भएको भए ऐसी कि तैसी; प्रधानमन्त्रीकै सचिवालयबाट प्रेषित फोटो भएकोले लेखेको हुँ !”
मानौँ प्रधानमन्त्रीको सचिवालयमा सबै “आलु” छन् !!!

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार २३:२०