दशैंका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न सकिने
१५ भदौ, काठमाडौं । दशैंका लागि आगामी भदौ २९ गतदेखि असोज १० गतेसम्म नयाँ तथा सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले एक सुचना प्रकाशित गर्दै सर्वसाधारणलगायत विभिन्न संघ संस्थाका लागि उक्त मितिमा बैंकिङ कारोबार गर्दा सुकिला नोट सटही गर्ने व्यवस्था गरेको जनाएको छ ।
दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग थापाथली, र प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
साथै, इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सर्वसाधारण तथा संघ/संस्थालाई सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइए राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार ०९:३२












